अनलाइनबाट हाइड्रोमा लगानी गर्नेको संख्या २५ हजार, साढे दुई अर्ब लगानी प्रतिवद्धता

काठमाडौं, माघ ९ । ‘नेपालको पानी जनताको लगानी’मा लगानीकर्ताहरूले साढे दुई अर्वको लगानी प्रतिवद्धता जनाएका छन् । ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको उक्त योजनामा अहिलेसम्म २४ हजार २४९ जनाले लगानी प्रतिवद्धता जनाइसकेका छन् ।

संस्थागत रुपमा २७ वटा संस्थाले लगानी प्रतिवद्धता जनाएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । व्यक्तिगत र संस्थागत गरेर हालसम्म दुई अर्ब ४३ करोड २९ लाख ४५ हजार ९४३ रूपैयाँ बराबरको प्रतिवद्धता प्राप्त भएको ऊर्जा मन्त्रीको सचिवालयले एभरेष्टदैनिक डटकमलाई जानकारी दिएको छ ।

ऊर्जा मन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार हाइड्रोमा लगानी प्रतिवद्धता गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको छ । संस्थागत रुपमा भन्दा पनि व्यक्तिगत रुपमा लगानी प्रतिवद्धता गर्नेहरु ह्वात्तै बढ्दै गएका छन् ।

संस्थागत रुपमा रु आठ करोड ६१ लाख ७५ हजार रूपैयाँ लगानी प्रतिवद्धता आएको छ । पुस २५ गते साँझदेखि खुलेको अनलाईन आवेदनमा स्वदेश तथा विदेशमा रहेका नेपालीले उत्साहजनक रुपमा लगानी गरेका छन् । ‘लगानी सुनिश्चित हुने वातावरण दिनसक्नुपर्छ नेपालका राष्ट्रिय गौरवका धेरै योजना नेपालीकै पैसाले गर्न सकिने रहेछ,’ ऊर्जामन्त्रीका प्रमुख स्वकीय सचिव बसन्त शर्मालेले एभरेष्टदैनिक डटकमसँग भने ।

आन्तरिक रुपमा जलविद्युत् आयोजनामा कति लगानी जुट्छ भन्ने पत्ता लगाउन मन्त्रालयले पुस २५ गते साँझबाट नागरिकलाई अनलाइनबाट लगानी प्रतिवद्धता जनाउन आग्रह गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: