यसकारण बन्छन् बालकहरु गाडीका खलासी !

भोको पेटको आगो निभाउन सहेरै काम गर्दै आएका छौँ

जुम्ला, माघ ९ । जुम्लाबाट काठमाडौँ छुटेको डिलक्स बस रारालिही गाविस जुम्लाको सीतानगर बजारमा रोकियो ।

बसको ढोकाबाट सानो बालक यात्रु खोज्न फुत्त बाहिर निस्क्यो र कराउँदै भने– काठमाडौ, काठमाडौँ ! च्यातिएको पाइन्ट, कलेटी परेका ओ‌ठ, जाडोले खुम्चिएको शरीर, मैलो टिसर्ट लगाएका उनी, कालीकोट फोइ महादेव गाविसका १२ वर्षीय बालक किशोर बुढा ।

सानो उमेरमै खलासी काम गर्दै आएका किशोरले काठमाडौँका लागि बस नजिक पुगेका यात्रुको सामान बडो कठिन तरिकाले हुटमा राखेर पुनः यात्रु बोलाउन ठूलो स्वरले कराउन थाले । अपत्यारिलो काम गर्ने बालक किशोरको यस्तै देखिन्थ्यो दैनिकी ।

त्यस्तै, जुम्ला–नाग्म हुँदै सुर्खेतका लागि छुटेको बसमा यात्रु बोलाउँदै थिए, जुम्ला नराकोट गाविस घर भई खलासीको काम गर्दै आएका अर्का बालक राजबहादुर थापा । उनी पनि वर्षले १४ काटेका थिएनन् । तर पनि आफूलाई १३–१४ वर्ष भन्न रुचाएनन् उनले ।

पछिल्लो समयमा कर्णालीका प्रायजसोः आमा बाबुविहीन असहाय, टुहुरा र गरिब घरपरिवारका बालबालिका विभिन्न सवारी साधनमा खलासी होस् या उद्योग कलकारखानामा मजदुरका रूपमा होस्, भारयुक्त काम गर्दै आएका छन् । यो मजदुरी गर्नु उनीहरूका लागि रहर नभई बाध्यता बन्दै आएको छ ।

खलासी काम गर्ने यी दुवै बालकलाई गाडी लाइन सास्ती हुन्छ भन्ने राम्रोसँग थाहा छ । यात्रुको रुखो बचन, राम्ररी खान, आराम गर्न र सुत्न नपाउनु, गाडी मर्मतमा हुने कठिनाइले कहिलेकाहीँ उनीहरूलाई दिक्क बनाउँछ र यो लाइन नै छोडुँ जस्तो लाग्छ ।

तर फर्केर जानु नै कहाँ छ र उनीहरूलाई ? आमाबुबा नभएका उनीहरूका लागि गाडी गाँस, बास दुवै भएको छ ।

पढ्ने रहर मनभरि भए तापनि जीवन धान्नका लागि खाने गाँस, लगाउने कपाससमेत आफ}+ले जोहो गर्नुपर्ने बाध्यताले अब पढ्ने मोह पनि घटिसकेको छ, उनीहरूको ।

खलासी काम गर्ने दुवै बालक बुढा र थापाले भने– “दिनभर गाडीको ढोका ठोक्दै हाम्रा दिन बित्छन् । गाडीमा यात्रुले गर्ने दुर्व्यवहारले मन दुखेर घरको याद झलझली आउँछ, यस्तो दुःख किन गरौँ जस्तो मनमा विचार आउँछ । आखिर घरमा जाउँ संरक्षण गर्ने पनि त कोही छैन ।

भोको पेटको आगो निभाउन सहेरै काम गर्दै आएका छौँ ।” फोहाेर शरीर, थाकेको ज्यान, भोको पेटले पढ्ने कुरालाई सोच्नै नसकेको र यो असम्भव भइसकेको उनीहरूको भनाइ थियो । पेटकै लागि गाली खाएर काम गर्दै आएको र सके गाडी चालक बनेर देखाउने उनीहरूले बताए ।

जोखिमपूर्ण काम गर्ने बुढा र थापा त प्रतिनिधि बालक मात्र हुन् । दर्जनौँ बालबालिका कठिन श्रममा संलग्न छन् । यसरी श्रममा संलग्न अधिकांश बालक आफ्नो सही उमेर दिन पनि चाहँदैनन् । १८ वर्षभन्दा मुनिकालाई कानुनले कुनै पनि श्रम गर्न दिँदैन भन्ने कुरा सामान्यतः उनीहरूलाई थाहा छ ।

११ वर्ष उमेर भएका बालबालिकाले पनि १६ वर्ष उमेर पुगेको भनेर ढाँट्छन् । बालश्रम शोषण र अधिकार हनन भयो भन्दै अधिकारकर्मीहरूले कामबाट छुटाउने तर आफ्नो जीवनका लागि राज्यले अर्को व्यवस्था नगर्दा समस्यामा पर्ने गरेकाले ढाँट्नु परेको उनीहरूको दुखेसो छ ।

नेपालको संविधान–२०७३, भाग ३ को मौलिक हकको धारा ३९ को उपधारा -४ मा भनिएको छ,…कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै जोखिमपूर्ण काममा लगाउन पाइने छैन ।

संविधानमा उल्लेख गरिएका यी यस्तै व्यवस्थाका विषयमा निश्चित नागरिकबाहेक अरूलाई राम्रोसँग थाहा हुँदैन, ग्रामीण भेकमा ।

संविधानले दिएको अधिकारका बारेमा न उनीहरूलाई जानकारी छ न त उनीहरूको अधिकार राज्यले सुनिश्चित गर्न त्यस्तो कुनै स्पष्ट मापदण्ड तयार गरेको पाइन्छ ।

अधिकारबाट वञ्चित भएका बालबालिकाको बालअधिकार सुनिश्चितताका सवालमा अधिकारकर्मीहरूले आवाज निकालेको त पाइन्छ । यद्यपि पेस गरिएका प्रतिवेदनको कार्यान्वयन सरकारले गर्न नसक्दा अधिकारकर्मीहरू आफ्नो प्रयास लत्याइएको बताउँछन् ।

कमेन्ट गर्नुहोस्