सुकुम्बासीहरूले घेरे माअोवादी केन्द्रको हेडक्वाटर

काठमाडौँ, माघ ९ । देशभर रहेका सुकुम्बासीहरूले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा घेराउ गरेका छन् । सरकारले सुकुम्वासीहरुको माग सम्बोधन गर्नुपर्ने माग राखेर आइतबार संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाईमा पेरिसडाँडा घेरिएको हो । उनीहरुले सरकारको नेतृत्व माओवादी केन्द्रले गरेपनि सुकम्बासीको पक्षमा केही गर्न नसकेको भन्दै पेरिसडाँडा पुगेर ज्ञापनपत्र बुझाएका छन् ।

पार्टी कार्यालयको गेटमा बसेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुकुम्बासीहरूको समूहलाई कार्यालय प्रवेश गर्नबाट रोकेको छ । तर उनीकहरूको मागपत्र बुझ्न माओवादी केन्द्रले नेता रामबहादुर थापा ‘बादल’लाई जिम्मेवारी दिएको बताएको छ ।

सुकुम्बासीहरूले नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालय पनि घेराउ गरेर ज्ञापनपत्र बुझाउने मोर्चाका अध्यक्ष निरज राईले बताए । देशभरका सुकुम्बासीको हकहितको लागि अधिकार सम्पन्न सुकुम्बासी समस्या समाधान आयोग गठन गर्नुपर्ने, सुकुम्बासीलाई पनि लालपुर्जा दिनुपर्ने माग उनीहरूले अघि सारेका छन् ।

सरकारले भक्तपुरको मनोहरा किनारामा रहेको सुकुम्बासी बस्तीलाई हटाउन लागेको प्रति उनीहरूले असन्तुष्टि जनाएका छन् । सरकारको उक्त कदम तत्काल रोक्न उनीहरूले माग गरेका छन् । मनोहरा जग्गा एकिकरण आयोजना तत्काल खारेज गर्नुपर्ने, सुकुम्बासीको बसोबासको ग्यारेण्टी गर्नुपर्नेलगायत दर्जनौं माग राखेर आइतबारदेखि सुकुम्बासीले मुख्य तीन पार्टीका कार्यालय घेराऊ गर्न लागेको मोर्चा अध्यक्ष राईले जानकारी दिए ।

‘देशभरका सुकुम्बासीलाई सरकारले असहयोग गरेको छ । सुकुम्बासीलाई हटाउनको निम्ति अनेक हत्कण्डा सरकारले अपनाई रहेको छ । हामी सुकुम्वासीलाई पनि लालपुर्जा दिनुपर्छ,’ राईले भने ।

उनले वर्षाैदेखि बसेको जमिन बस्नेकै नाममा हुनुपर्ने बताए । उनले भने–‘हामी पुस्तौदेखि बसोबास गर्दै आएको जमिन हाम्रो नाममा नामसारी गरिदिनुपर्छ, वर्षौदेखि बस्दै आएको बस्तीबाट हटाउन पाईदैन् ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: