एमाले अध्यक्ष ओलीको घोषणा–‘संशोधन पारित भए संसद छाडेर सडकमा झर्छौं’

पोखरा, माघ ९ । एमाले अध्यक्ष केपी शर्मा संविधान संशोधन प्रस्ताव पारित भए संसद छाडेर सडकमा आन्दोलन गर्ने बताएका छन् ।
एमाले केन्द्रीय मोर्चा संगठन कमिटीको राष्ट्रिय भेला तथा प्रशिक्षणको आइतबार पोखरामा उद्‍घाटन गर्दै उनले सरकारको मनसाय र संविधानको अन्तरबस्तु हेर्दा संशोधन प्रस्ताव कुनैपनि हालतमा पास गर्न नदिने बताए ।

ओलीले भने– ‘एमाले राष्ट्रियहितको पक्षमा उभिन दृढ संकल्पित छ,’ सरकारको मनसाय र संशोधनको अन्तरबस्तु हेर्दा संविधान कुनै पनि हालतमा पास गर्नु हुँदैन ।’
सरकारले संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने उनको भनाई थियो ।

जसरी पनि संविधान संशोधन गर्न सरकार हदैसम्म गिरेको उनले आरोप लगाए । ‘सरकारले यति कच्चा काम गरेको छ कि, एउटा मात्रै सांसद भएका पार्टीलाई सिङ्गो मन्त्रालय दिएको छ ।’
आधारभूत रुपमा राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र समानता, जनतलाई अधिकार र अवसर दिने सबालमा संविधानमा कुनै कमी नरहेको तर राज्य सञ्चालनलाई प्रभावकारी बनाउने सन्दर्भमा केही जटिलता रहेको उनको भनाइ थियो ।

संशोधन राष्ट्रिय एकतालाई मजबुत बनाएर देशलाई समृद्धि बनाउने भन्दा पनि भौगोलिक अखण्डतालाई कमजोर पारेर नेपाललाई कमजोर बनाउने प्रयास भएको उनले बताए ।

उनले जसरी पनि संशोधन गर्न खोज्दा अप्रिय घटना हुनसक्ने तर्फ सरकारले ख्याल राख्नु पर्ने बताए । ओलीले निर्वाचनको विकल्प नरहेको बताए ।

अहिले सरकार चुनाव सार्ने र गर्दै नगर्ने षड्यन्त्रमा समेत लागेको उनले बताए । एमालेको विगतको काम र बजेटका कारण देश एमालेमय हुने डरले चुनाव नगर्ने मनस्थितिमा सरकार पुगेको उनको भनाइ थियो । ‘चुनावका विषयमा कुनै सहमति भएको भन्दा पनि हामीले चुनाव जसरी पनि हुनुपर्छ भनेका हौं ।’ उनले भने, ‘सरकार चुनाव गर्छु त भन्छ तर पत्याइहाल्ने अवस्था छैन । नभए कानुन, विधेयक ल्याएको खोइ त,’ उनले प्रश्न गरे ।

भाषा, नागरिकता, धर्म संस्कृतिका नाममा विविधतालाई दुरुपयोग गरी राष्ट्र सिध्याउने खेल भएको उनले बताए । वरिष्ठ नेता माधव नेपालले निर्वाचनमा होमिएर ठूलो पार्टी बनाउन कार्यकर्तासमक्ष अनुरोध गरे ।

अमेरिकी राष्ट्रपतिको निर्वाचनको जस्तो प्रचार एउटाको हुने र जीत अर्कैले ल्याउने हुनसक्ने भएकोले ढुक्क भएर बस्न नहुने बताए ।

भेलामा एमालेका २० वटा विभिन्न मोर्चा संगठनका ४ सय जनाको सहभागिता छ । भेला तथा प्रशिक्षण माघ ११ गतेसम्म चल्नेछ । कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिनको लागि एमाले अध्यक्ष केपी ओलासहित माधवकुमार नेपाल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ्ग, किरण गुरुङ्गलगायतका नेताहरु पोखरा आएका छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: