निर्वाचन आयोगले भन्यो– ‘बैशाखमा स्थानीय तहको चुनाव गर्न सकिँदैन’

काठमाडौँ, माघ ९ । निर्वाचन आयोगले बैशाखमा चुनाव गर्न नसकिने जनाउ दिएको छ । मुख्य तीन दलका शीर्षस्थ नेताहरुले शनिबार बैशाखमा स्थानीय तहको निवार्चन गर्ने सहमति गरे पनि त्यो सम्भव नभएको आयोगले स्पष्ट पारेको हो ।

निर्वाचन सम्बन्धी ऐन नियम र स्थानीय संरचनाको सीमाङ्कनको टुङ्गो नलागेसम्म चुनाव गर्न कठिन हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । उनले भने–‘पूर्वाधार तयार भएको अवस्थामा निर्वाचन गर्न कम्तिमा ४ महिनाको समय चाहिन्छ भनेर हामीले सरकारलाई स्पष्ट रुपमा भनिसकेका छौं । आयोगसँग सल्लाह नगरी घोषणा हुने मितिका बारेमा प्रतिक्रिया दिन मनासिव हुँदैन ।’
स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदन अनुमोदन नभएकाले सीमाङ्कनका बारेमा पनि अन्योल यथावत रहेको उनले बताए । ‘अन्यौलकैबीच चुनाव गर्न कठिन हुन्छ,’ प्रवक्ता शर्माले भने– ‘नगरपालिका, गाउँपालिका र वडामा रहेका मतदाता नामावली तयार पार्न पनि पहिले गाउँपालिकाहरुको सीमाना एकिन हुन जरुरी छ ।’

निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली, निर्वाचन आयोग, दल सम्बन्धी र निर्वाचन कसुर र सजायँ ऐनहरु निर्माण हुन सकेको छैन । ती ऐनहरु संसदको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिमा विचाराधीन छ ।
दलहरुबीच थ्रेसहोल्ड, दल दर्ता र लेखा परीक्षण लगायत विषयमा असहमति छ । सोही असहमतिका कारण ऐनमाथिको छलफल प्रभावित भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: