अन्तिम ओभरको ४ बलमा ६ रन बनाउन चुक्दा भारत पराजित

कोलकाता, माघ १० । इङ्ल्यान्डले भारतविरूद्धको तेस्रो तथा अन्तिम एकदिवसीय ५ रनले जितेको छ। निकै रोमाञ्चक यस खेलमा इङ्ल्यान्डले दिएको ३ सय २२ रनको लक्ष्य पछ्याउने क्रममा भारतलाई अन्तिम ओभरमा १६ रन आवश्यक थियो।

भारतका युवा ब्याट्सम्यान केदार जाधवले क्रिस वोक्सको पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गर्दै खेललाई जीत नजिक पुर्याएका थिए । तर, अन्तिम ४ बलमा जितका लागि चाहिने ६ रन बनाउँन नसक्दा भारत पराजित भएको हो । जाधव वोक्सको तेस्रो र चौथो बलमा रन बनाउन असफल भए। पाँचौ बलमा उनले डिप प्वान्टमा बिलिङ्सलाई क्याच दिएपछि खेलमा भारत हावी हुन सकेन ।

अन्तिम बलमा भारतलाई जितका लागि एक बलमा ६ रनको आवश्यक थियो। तर, जस्पित बुमराहले वोक्सको बलमा एक रन पनि लिन नसकेपछि भारत ५ रनले खेल गुमाउन पुग्यो। भारतले ९ विकेटको क्षतिमा ३ सय १६ रन बनायो।

यसअघि भारतीय कप्तान विराट कोहलीले एकदिवसीयमा ३९ औं अर्धसतक पुरा गर्ने क्रममा ५५ रन बनाए। युवराज सिंह ४५ रन बनाएर आउट भए। महेन्द्रसिंह धोनी २५ रनमा पवेलियन फर्किए। भारतको योगफल १ सय ७३ हुँदा पाँचौ विकेटको रुपमा धोनी आउट भएका थिए। यसपछि भारतको हार मानिएको थियो।
तर, मध्यक्रममा केदार जाधवले ७५ बलमा १ छक्का र १२ चौकाको सहयोगमा ९० र हार्दिक पाण्ड्याले पहिलो एकदिवसीय अर्धसतकको रुपमा २ छक्का र ४ चौकाको सहयोगले ५६ रन बनाएपछि भारत खेलमा फर्किएको थियो। यी दुवैले छैटौं विकेटका लागि १ सय ४ रनको साझेदारी गरेका थिए।

यसअघि टस जितेर इङ्ल्यान्डलाई ब्याटिङको निम्तो दिएको भारतले राम्रो बलिङ गर्न सकेन्। इङ्ल्यान्डले ८ विकेटको क्षतिमा ३ सय २१ रन बनायो। इङ्ल्यान्डको जितमा जासन रोयले ६५, जोनी बेरिस्टोउले ५६ र बेन स्टोक्सले ३७ बलमा बिस्फोटक ५७ रन बनाएका थिए। भारतविरूद्ध ३ विकेट पनि लिएका स्टोक्स ‘म्यान अफ दि म्याच’ घोषित भए।
अन्तिम एकदिवसीय हारे पनि भारतले अघिल्लो दुई खेल जितेर शृंखला २–१ ले कब्जा जमाएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: