ओली कहिल्यै राष्ट्रवादी होइनन्, उनका लागि राष्ट्रवाद राजनीतिक खेल मात्र- मैनाली

यदि राजा ज्ञानेन्द्र ‘पपुलर’ थिए भने राजतन्त्र हट्दै हट्दैन थियो

राजा ज्ञानेन्द्रको पहिलो ‘कू’ (१८ असोज ०५९) हुनुमा राजनीतिक दलहरुलाई दोष लगाएपछि नेकपा एमाले स्थायी समितिबाट निकालिए, राधाकृष्ण मैनाली । त्यसपछि शाही सरकारमा मन्त्री हुँदै गणतन्त्र स्थापनापछि माओवादीमा प्रवेश गरे । पछि माओवादी पनि छाडे र एमाले प्रवेश गरे । स्थायी समितिमा पुनःस्थापना नगरिए पार्टीमा नफर्किने भनिरहेका मैनालीलाई अध्यक्ष केपी शर्मा ओलीले दुई वर्षअघि केन्द्रीय सदस्यका रुपमा पार्टी प्रवेश गराएका थिए । तिनै मैनालीसँगको संवाद :

दुई वर्ष वितिसक्यो एमालेका अध्यक्ष केपी शर्मा ओलीले तपाईँलाईअझै स्थायी समिति सदस्य बनाएनन् है, अप्ठेरो लागेको छैन ?
अध्यक्ष भइसकेपछि केपी ओली आफैँ मेरो घरमा आए । कर गरे, ‘ पार्टीको नेता तिमी, मेरै नेता पनि तिमी । तिमी बाहिर, मचाहिँ एमालेको अध्यक्ष भएर बस्दा त्यति राम्रो सन्देश जान्न ।’ त्यस दिन म केही बोलिनँ । केही दिनपछि आफ्नै घरमा बोलाए । त्यही कुरा दोहोर्‍याए । मैले त अलिक पछि निर्णय गर्छु भनेको हो । उनी कराए, ‘पछि के निर्णय गर्छौ ? अहिले केन्द्रीय समितिमा आऊ, पछि स्थायी समितिमा ल्याइहाल्छु नि ?’ उनको ‘बडिल्याङ्ग्वेज’ हेर्दा मलाई लाग्यो, पछि स्थायी समितिमा कसो नलैजालान् त तर, दुई वर्ष बितिसक्यो, लैजाँदैनन् । बीचमा एक–दुईपटक सम्झाएँ पनि । मेरै बारेमा बिहान–बेलुकी कुराकानी गर्न जाऊँ, त्यो पनि भएन । त्यसैले मैले अलिक असहज महसुस गरेको छु ।

ओलीजीसँगभेटघाटका बेला केही कुरा भएको छैन ?
देखावटी कुरामा साह्रै सिपालु मान्छे हुन् उनी । आफूलाई बाहिर राम्रो देखाउन गर्नुपर्ने व्यवहारमा कुनै कञ्जुस्याइँ गर्दैनन् । मलाई पनि त्यसै गर्छन्, देख्नासाथ बोलाएर छेउमै राख्छन्, मीठो गफ गर्छन् । तर, दिलदेखि नै जिम्मेवारी दिने कुरामा चाहिँ त्यस्तो देखिएनन् ।

माधव नेपालले रोकेका त हैनन् ?
हो कि त भनेर माधवसँग पनि कुरा गरेँ । उनले ‘हिजो पार्टीबाट हटाएको जिम्मेवारी लिने तर स्थायी समितिमा ल्याउन मैले रोकेको होइन’ भने । उनले यतिसम्मै भने कि ‘यदि ओलीले प्रस्ताव ल्याए र मैले रोकेँ भने, मेरो मुखमा थुकिदिए हुन्छ ।’ माधवजीका तर्फबाट स्थायी समितिमा मलाई लैजान रोकावट हुन्न भनेर ओलीसँग भनेको पनि हुँ । तैपनि, भएको छैन ।

कहिले राजाकहाँ, कहिले माओवादीमा गएको मान्छेलाई किन स्थायी समितिमा ल्याउने भनेर पनि त हुन सक्छ, होइन ?

राजनीतिमा कहिले सही काम गरिन्छ, कहिले गलत । सबैको हुन्छ यस्तो । मैले के सही गरेँ, के गलत गरेँ भन्ने कुरा हजारचोटि भनिसकेँ हुँला । म एमाले खोज्दै गएको होइन । एमाले मलाई खोज्दै आएको हो । यदि राजा र माओवादीकहाँ गएको भनेर जिम्मेवारी नदिएका हुन् भने मलाई एमालेमा नबोलाएको भए हुन्थ्यो ।

त्यति वरिष्ठ नेता, किन पछि परियो भनेर सोच्नुभएको छ ?
मनमा जे लागे पनि बाहिर ‘रिजर्व’ बस्ने, भित्रभित्रै चाहिँ टिम बनाएर दाउपेच खेल्ने कुरा रहेछ राजनीति । तर, मैले बुझेको राजनीति भनेको लागेको कुरा भन्ने हो, जानेको कुरा गरिहाल्ने हो । यस्तो स्वभावको मान्छेलाई राजनीति गर्न सजिलो हुँदो रहेनछ । सबैले झुक्याउँदा मात्र रहेछन्, छक्याउँदा मात्र रहेछन् ।

किन होला त ?
अरूले राम्रो भनून् कि नराम्रो, लागेको कुरा भन्ने बानीका कारण धेरै मित्र मसँग चिढिए । नाफानोक्सान हेरेर बोल्ने बानीको विकास गर्न सकिनँ मैले । त्यस्तो हिसाबकिताब गर्ने मित्रहरू माथि पुगे ।

तपाईं दाजु–भाइ (सीपी मैनाली) बीचको फुटले गर्दा पनि हो कि ?
एकले अर्कोलाई तानेर हामी नेता भएका होइनौँ । आ–आफ्नो सोचाइ र पृष्ठभूमिका साथ हामी राजनीतिमा अघि बढेका हौँ । त्यसैले दाजुभाइ फुटेकैले यस्तो भइयो भन्ने लाग्दैन ।

सीपीसँग किन तपाईंको कहिल्यै मतो मिल्दैन ?
उनको र मेरो स्वभाव नै फरक छ । उनी राजनीतिमा हिसाबकिताव गर्न जान्दछन्, कमर्सियल स्वभावका छन् । मलाई त्यस्तो हिसाबकिताब
गर्न आउँदैन ।

ओलीचाहिँ कत्तिको हिसाबकिताब गर्नुहुन्छ ?
भन्न त उनलाई कतिपयले राजनेता पनि भनेका छन् । तर, मेरो दृष्टिमा उनी राजनीतिक नेता होइनन्, राजनीतिक खेलाडी हुन् । नाफा–नोक्सान हेर्छन् । कताबाट किक हान्दा गोल गर्न सकिन्छ, उनको ध्याउन्न यसैमा छ ।

अहिले ओलीको राष्ट्रवादको यत्रो चर्चा भएको छ, तपाईँ चै किन नी असन्तुष्ट ?
कस्तो अप्ठ्यारो प्रश्न ! नबोलौँ, मनमा लाग्या कुरा पर्‍यो । भनौँ, पार्टीका अध्यक्षका बारेमा बोल्नुपर्ने भो ! राजनीतिक खेलाडीका रूपमा उनले राष्ट्रवादका कुरा गरिरहेका छन् । नत्र, महाकाली सन्धिमा पानीको बाँडफाँटमा नेपाल ठगिँदा उनको राष्ट्रवाद कहाँ गएको थियो ? त्यो सन्धिताका उनले राष्ट्रवादलाई कसरी बुझेका थिए ? अहिले कसरी बुझिरहेका छन् ? त्यसैले ओलीका लागि राष्ट्रवाद राजनीतिक खेल हो, आस्था वा आदर्शको विषय होइन ।

उसो भए, तपाईँले चिनेका ओली र अहिलेका ओली बदलिएका हुन् ?
पहिले त यस्ता खेलाडी होइनन् उनी । दासढुंगा काण्डपछाडि र महाकाली सन्धिको आसपासदेखि हो, उनी खेलाडी बन्न थालेको । त्यसयता उनी कहिले राष्ट्रवाद बिर्सन्छन्, कहिले राष्ट्रवादी बनिदिन्छन् । के बोल्दा फाइदा हुन्छ, त्यही गर्दै छन् ।

अहिलेको राजनीतिक घटनाक्रम कसरी नियाल्दै हुनुहुन्छ ?
राजनीतिले राष्ट्रलाई माथि उठाउनुपर्ने हो । तर, कांग्रेस, एमाले, माओवादी तीनै पार्टीको राजनीतिले राष्ट्रलाई संकटमा पारेको छ । हिजो पो दरबार हाउगुजी थियो । भित्र जतिसुकै खोक्रो भए पनि त्यही हाउगुजीले राष्ट्र टिकेको थियो । अहिले ‘पार्टीहरू अजङ्गका छन्’ भन्ने त्यस्तै हाउगुजी हुनुपर्ने तर छैन ।
पार्टीहरू कस्ता छन् भने बाहिर हेर्दा सुन्निएका, भित्रचाहिँ अन्तर्संघर्षले धोद्रिएका । सबै नेता पखालिएका । कुनै नेताको प्रशंसामा कसैले बोल्दैन । बोले पनि जनताले पत्याउँदैनन् । पार्टी र नेताहरू यो स्थितिमा पुग्नु भनेको देशमा संकट सिर्जना भइसकेको छ भन्ने संकेत हो ।

कतिपयले त एमाले लगायतका दलको कारण राजतन्त्र फर्केला भन्छन, त्यस्तो संभावना देख्नुहुन्न ?
जादुगरी खेल नै चल्यो भने अर्कै कुरा । नत्र राजतन्त्र फर्किन सम्भव छैन । जतिसुकै जे भने पनि राजतन्त्र भनेको परम्परागत खालको व्यक्तिवादी संस्था हो । यदि राजा ज्ञानेन्द्र ‘पपुलर’ थिए भने राजतन्त्र हट्दै हट्दैन थियो । अहिले ज्ञानेन्द्र मात्र होइन, पूर्वराजपरिवारका अरू सदस्य पनि पपुलर छैनन् । त्यसैले राजतन्त्र फर्केलाजस्तो मलाई लाग्दैन ।

तपाईँको थुप्रै कुटनीतिक निकायका पूर्व कर्मचारीसँग पनि भेट हुन्छ होला के भन्छन उनीहरु ?
हालै मात्र अवकाश पाएका सेनाका केही जनरलसँग मेरो भेटघाट भयो । उनीहरू पनि राजनीतिक अवस्थाबाट निराश देखिए । ओजनदार व्यक्तित्व राष्ट्रपतिको जिम्मेवारीमा आउन नसकेकामा पनि गुनासो रहेछ उनीहरूको । राजनीतिक आरोह–अवरोह नबेहोरेकाहरू राष्ट्रपति भएका छन् । ३०/३५ वर्षको अनुभव भएका सेनाका अधिकृतहरूले विश्वास र भर गर्न सक्ने मान्छे परमाधिपति पाउन सकेको छैन ।
साँच्चै भन्नु त राजतन्त्रको अन्त्य भएर गणतन्त्र ल्याएको दिन तपाईँले कस्तो महसुस भएको थियो ?
त्यस्तो पनि होइन । म त खुसी नै थिएँ राजतन्त्र जाँदा । राजाहरूमा एउटा आदर्श होला भन्ने लाग्थ्यो । नजिकबाट हेर्दा त्यस्तो होइन रहेछ । राजाहरू पनि नेताजस्तै आफ्नै मात्र स्वार्थ हेर्ने प्राणी रहेछन् । त्यस्तो संस्था गयो, नेताहरू पनि अब फिर्छन् होला जस्तो लागेको थियो । तर, हाम्रो दुर्भाग्य १

संविधान संशोधनमा एमालेले हलो अड्काइरहने, मधेसी नेता संशोधनसहित चुनावमा जाने भन्ने हठले नेपाली राजनीतिलाई कहाँ लैजाला ?
तीन ठूला दल मिले भने ठीकै ठाउँमा जान्छ । मधेसीसमेत मिले भने त झन् राम्रो हुन्छ । तर, उनीहरू किन मिल्दैनन् भने उनीहरूको साँचो उनीहरूको हातमा छैन । हुन त तीन ठूला दलको साँचो पनि उनीहरूको हातमा छैन । अर्कैको साँचो आफ्नो खल्तीमा लुकाएर हिँडिरहेका छन् उनीहरू ।
जे होस्, तीन ठूला दल मिले भने कम्तीमा संविधानचाहिँ कार्यान्वयन हुन्छ । तर, संविधान कार्यान्वयन नहुँदा पनि म खुसी नै हुन्छु । किनभने, संविधान कार्यान्वयन नहुँदा कम्तीमा संघीयता र धर्मनिरपेक्षताको क्यान्सरबाट मुलुकले मुक्ति पाउँछ । राजनीति त्यही दिशातिर गइरहेको छ ।

संविधान कार्यान्वयन नगर्ने भए राजतन्त्र फर्काउनु पर्ला ?
कति ठाउँ चहारी हिँड्नु मैले यो उमेरमा १ त्यसैले विचार जोसँग मिले पनि बस्नचाहिँ एमालेमै बस्छु । नातागोता सबै एमालेमा छन्, हात मिलाउने साथीहरू पनि यहीँ छन् । म जहाँ पुगे पनि एक्लै जाने हो । अरूहरू मसँग जाँदैनन् । तर, एमालेमा बसिया’छ, केही काम गर्नु पनि पर्‍या’छैन । रमिता हेर्‍या’छु, बस्या’छु । यसभन्दा आनन्द अरू केमा हुन्छ ?

अनि, समकक्षी राजनीतिक साथीहरूबीच कत्तिको चियापान हुन्छ ?
उनीहरू बोलाउँदैनन् । नबोलाएपछि आफूले पनि किन बोलाउने भन्ने लाग्छ । मित्रहरूले के बुझेका छन् भने कुरा चियाको होइन, ‘पावर’को हो । मसँग ‘पावर’ हुँदो हो त उनीहरू चिया खाने निहुँमा आइरहेका हुन्थे ।
‘हिजो राजाको सरकारमा गएको’ भनेर अहिले खिसी गर्ने साथीहरू राजाको मन्त्री छँदा मकहाँ धाउँथे । अहिलेको एमाले पोलिटब्युरोका आधाभन्दा बढी सदस्य आउँथे मकहाँ । मीठा कुरा गर्थे, काम पट्याएर जान्थे । स्थिति कस्तो छ भने उनीहरू मलाई भेट्न आउँथे भन्दा कसैले पनि पत्याउँदैन । यस्तो अवस्था छ, अहिले मेरो ।
 हामीले यो सामग्री नेपाल साप्ताहिकबाट साभार गरेका हौं । सम्पादक

कमेन्ट गर्नुहोस्

%d bloggers like this: