भारतीय एयरमार्सललाई नेपालमा बस्ने दिने सम्झौता राष्ट्रघाती र जनघाती- विप्लव माओवादी

नेकपा (माओवादी)का महासचिव विप्लवले सरकारले भारतीय हवाई सुरक्षा बल (एयरमार्सल) लाई नेपालमा बस्ने दिनेबारे गरेको सम्झौतालाई राष्ट्रघात र जनघात भन्दै सार्वजनिक गर्न माग गरेका छन् ।

‘नेपालको एकमात्र अन्तर्राष्ट्रिय हवाई अड्डा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भारतीय हवाई सुरक्षा बल (एयरमार्सल) बस्ने स्वीकृती दिएको सम्झौता भएको जानकारी आएको छ । तर हालसम्म प्रचण्ड सरकारले यसबारे जनतालाई कुनै जानकारी दिएको छैन । यो एउटा गम्भीर राष्ट्रघात र आत्मसमर्पण हो’ विप्लवले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

महासचिव विप्लवले भारतले हिसिला यमी  पर्यटनमन्त्री हुँदा पनि यस्तो प्रस्ताव आएको बताउँदै त्यसबेला पार्टीको निर्णयबाट उक्त प्रस्ताव रोकिएको तर फेरि प्रचण्डकै पालामा उक्त प्रस्ताव पास गरिनु लज्जाकाे विषय भएको बताएका छन् ।

‘भारतले पहिलेदेखि नै नेपालको अन्तर्राष्ट्रिय हवाई अड्डालाई आफ्नो नियन्त्रणभित्र राख्नको लागि भारतीय एयरमार्सल राख्ने चाहेको थियो । उसले २०६५ सालमा हिसिला यमी पर्यटन मन्त्री हुँदा पनि एयरमार्सलको प्रस्ताव आएको थियो । उक्त प्रस्तावलाई पार्टीको निर्णयमा रोकिएको थियो । आज प्रचण्ड प्रधानमन्त्री भएको बेला यो प्रस्ताव गरिनु र पास हुनु भनेको देशको लागि जनघात र राष्ट्रघात तथा सार्वभौमिकताका दृष्टिले लज्जास्पद र असैय विषय हो’ विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: