पीके क्याम्पसमा हराएको बीपीको समाजवाद

‘शैक्षिकस्थल वाहुवलको प्रयोग गर्ने थलो हैन,यो त विचार र सिद्धान्तको द्वन्द्वात्मक भुमि हो।’ विपि कोइरालाको यो वाणीलाई काङ्ग्रेस निकटको विद्यार्थी संगठन नेविसंघले आफ्नो आदर्श वाक्य नै मान्ने गरेको पाइन्छ । नेविसंघको घोषणापत्र,विधान ,प्रतिवेदन देखि लिएर हरेक प्रकाशन र साइनबोर्डमा समेत यो भनाई शिरमा राखेको देखिन्छ । तर आफुलाई विपिका चेला भन्न नहिच्किचाउने पद्मकन्या क्याम्पसमा नेविसंघका नेता कार्यकर्ताको ब्यवहार त्यसको ठिक उल्टो छ।उनीहरुले हमेसा कलेजलाई वाहुवलको क्रिडास्थल वनाइरहेका छन् ।

उनीहरुका हर्कत देख्दा आज पनि विपिका वास्तविक अनुयायीहरु लज्जित हुंदा हुन्। मुलुकमा गणतन्त्र आयो। लोकतन्त्र सर्वत्र छायो।घाम जुन रहेसम्म रहिरहने भनिएको वंश परम्परामा आधारित निरङ्कुशतन्त्र सदाका लागि आर्यघाटमा पुग्यो । एकात्मक शासनको अन्त्य भई मुलुक संघात्मक ब्यवस्थामा प्रवेश गर्यो।तर छात्राहरूमात्र पढ्ने नेपालको पुरानो र ऐतिहासिक पद्मकन्या क्याम्पसको गेटवाट अझै लोकतन्त्र छिर्न सकेको छैन।खासगरीकन लोकतन्त्रको दुहाई दिन कहिल्यै नथाक्ने नेविसंघको निषेधको राजनीतिले पिकेमा निकै घर गरेको छ।

लामो समयदेखि स्ववियुमा आफ्नो वर्चस्व कायम गरी फरक मत र विचारलाई दमन गर्दै आएको नेविसंघका सामु क्याम्पस प्रशासन समेत लाचार कठपुतली वन्न वाध्य छ। विगत एक महिना अघिदेखि पिके क्याम्पस तनावग्रस्त रहेको विभिन्न मिडियाहरुमा समेत आइरहेको छ। तनाव यो लेख तयार गर्दा सम्म पनि जारी नै छ। आखिर के भएको हो त पिके क्याम्पसमा ? यो सवैको जिज्ञासा र कौतुहलताको विषय समेत वन्न गएको छ।

अखिल(क्रान्तिकारी) पिकेका साथीहरूले पौष २५ गते कलेज अगाडिको भित्तामा आफ्ना चुनावी नारा लेखिरहेका थिए। एक्कासि नेविसंघको हिंसक जत्था आएर भित्तो लेख्ने पेन्टरलाई लखेट्ने र हाम्रा साथीहरूलाई कुटपिट गर्न थाले।

धेरैलाई थाहा नहुन पनि सक्छ पिकेमा नेविसंघका सामु घुंडा नटेक्ने विद्यार्थीलाई राजनीति गर्न त के होस्टेल वस्न र कलेज पढ्न समेत गाह्रो छ। केही गरेर होस्टेल वसिहाले पनि नेविसंघका नेता कार्यकर्तावाट निरन्तर चुटाई र दुर्ब्यवहारको सामना गर्नुपर्छ। एमाले निकट अनेरास्ववियुका साथीहरूले पनि निकै ठुलो दमन खेप्दै आएका छन्। नेविसंघको मनपरितन्त्र खुरुखुरु स्विकार गरे पिके शान्त हुन्छ। तर जब उनीहरुका गलत काम कार्वाही विरुद्ध आवाज उठायो तब पिके एकाएक अशान्त वन्छ। पछिल्लो चरणमा पिकेमा आफ्ना रचनात्मक र सृजनात्मक गतिविधि मार्फत अखिल(क्रान्तिकारी) जुर्मुराउन थाल्यो ।

क्याम्पस प्रशासन र नेविसंघले गरेका गलत काम कार्वाहीको भण्डाफोर पनि पनि गर्न थाल्यो । यसो गर्दा क्रान्तिकारी विद्यार्थी विचमा लोकप्रिय हुन थाल्यो। लोकतन्त्रको फोस्रो रटान लाउन नथाक्ने नेविसंघलाई यो कुरा विस्तारै असैह्य हुन थाल्यो ।
हामीले नेविसंघको मनपरितन्त्र लुरुलुरु स्विकार गर्न इन्कार गर्यो। समस्या यहीँबाट शुरु भयो । गत मंसिरमा पिकेवाट अखिल(क्रान्तिकारी)ले विद्यार्थीलाई वनभोज लाने कार्यक्रम वनाएको थियोे । वनभोजमा विद्यार्थीको राम्रो सहभागीता हुने देखेपछि एकाएक उनीहरु तिल्मिलाउन थाले। मंसिर १७ गते वनभोजको टिकट वेच्दै गर्दा एक्कासी क्रान्तिकारी नेतृ दर्शना नेपाली माथि आक्रमण गरे।त्यसपछि छुट्याउन जांदा म माथि पनि सांघातिक आक्रमण गरे। वीर अस्पताल गई मेरो टाउकोमा पाँच टांका लगाउने स्थिति आयो । आक्रमणको अरु कुनै कारण थिएन। मात्र हाम्रो वनभोजको सफलता थियोे । गत पुस २० गते त्रिविको सिनेट वैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय सार्वजनिक गर्यो।

अखिल(क्रान्तिकारी) पिकेका साथीहरूले पौष २५ गते कलेज अगाडिको भित्तामा आफ्ना चुनावी नारा लेखिरहेका थिए। एक्कासि नेविसंघको हिंसक जत्था आएर भित्तो लेख्ने पेन्टरलाई लखेट्ने र हाम्रा साथीहरूलाई कुटपिट गर्न थाले। दर्शना नेपाली र देविका मिजारमाथि इनामेल खन्याउने काम समेत पनि गरे। त्यसपछि केही समय दोहोरो भिडन्त भयो । यस्तो अन्यायपूर्ण हर्कतका विरुद्ध हामीले क्याम्पस प्रशासन र पुलिस प्रशासनलाई गुहार्यौं। तर गृहमन्त्रीको आडमा त्यहाँवाट न्यायको कुनै गुन्जयास् हुन सकेन। क्याम्पस प्रमुख त नेविसंघको रवरस्ट्याप र लाचार छांया मात्र भएकी छन्। छात्राहरु मात्र पढ्ने कलेज हाता भित्र होस्टल नियमावली विपरीत छात्रहरु प्रवेश गरि रातको समयमा आगो वालेर ‘ क्याम्प फायर ‘ गर्छन्। क्याम्पस प्रमुख मौन वस्छिन्।

राजनीतिक भागवण्डामा काङ्ग्रेसको कोटावाट आएकी क्याम्पस प्रमुख घटनाको न्यायिक निरोपण गर्नुको सट्टा नेविसंघ कै वोलिमा लोलि मिलाउंदै नुनको सोझो गर्न तल्लीन छिन्। पिकेका नेविसंघका साथीहरूले कलेजका भित्ताहरुमा अहिले पनि शैक्षिक स्थल विचार र सिद्धान्तको द्वन्द्वात्मक भुमी हो भन्ने विपिको भनाई उल्लेख गरेका छन्। के यहि हो विचारको प्रतिस्पर्धा ? के यहि हो नेविसंघको लोकतन्त्र ? के यहि हो विपिको सिद्धान्त ? लोकतन्त्रको खोक्रो भाषण छाट्न कहिल्यै नथाक्नेहरुले यसको जवाफ दिनुपर्छ कि पर्दैन ? अहिलेसम्म हामी धैर्यताका साथ वार्ता र छलफलवाटै समस्याको समाधान गर्न चाहिरहेका छौं । खवरदार विचार र अभिब्यक्तिको स्वतन्त्रतालाई यसरी नै वन्देज लगाउन खोजिरहे हाम्रो धैर्यताको वांध टुट्न सक्छ। अन्त्यमा महान कवि एवं सहिद कृष्ण सेन ‘इच्छुक’भन्छन्- हाम्रा आस्थाहरसमा प्रतिवन्ध लगाउंदै हाम्रा गोडाहरुमा नेल भिराउंदै तिमी भन्छौं हिड्न त हिंड तर यो वाटो नहिड हामी भने त्यहि वाटो हिडिरहन्छौं हो हामी पनि त्यहि वाटो हिडिरहन्छौं। हिडिरहन्छौं।
(लेखक अखिल (क्रान्तिकारी)केन्द्रीय सदस्य तथा पद्मकन्या क्याम्पसकी अध्यक्ष हुन्।)

कमेन्ट गर्नुहोस्

%d bloggers like this: