बजेट विनियोजन नहुँदा खानेपानी आपूर्तिमा समस्या

रोल्पा, माघ १२ । पुराना योजना मर्मत हुन नसक्दा रोल्पा जिल्लामा खानेपानीको समस्या देखिन थालेको छ ।

योजना निर्माण भएको लामो समयसम्म पनि मर्मतका लागि बजेट विनियोजन नहुँदा खानेपानी आपूर्तिमा समस्या देखिएको उपभोक्ताले गुनासो गरेका छन् ।

जलवायुमा आएको फेरबदलले पानीका स्रोत पनि सुक्दै गएका कारण समस्यामाथि समस्या थपिएको उपभोक्ताले बताएका छन्।

हिउँदमा घर नजिकैबाट पानी ल्याए पनि गर्मी मौसममा भने डेढ घन्टा टाढा पुगेर पानी ल्याउने गरेको मिझिङ–५ की यामकुमारी ओलीले बताउनुभयो ।

गाईभैँसीलाई खुवाउने, शौचालयमा प्रयोग गर्ने र घरायसी प्रयोजनका लागि आवश्यक पानीको बस्दोबस्त गर्न निकै कठिन हुने गरेको ओलीले दुखेसो गर्नुभयो ।

खानेपानीको मर्मतसम्भार हुन नसक्दा पानी आपूर्तिमा निकै कठिनाइ भएको मिझिङ–५ कै मनप्रसाद रानामगरले बताउनुभयो ।

आठ–दश घरका लागि एउटा सार्वजनिक धाराको व्यवस्था गरिएका कारण एक गाग्री पानी भर्न घन्टाँै लाग्ने गरेको रानाले बताउनुभयो ।

विसं २०४२ सम्मका पुराना योजना जिल्लामा रहे पनि बजेट अभावले ती योजना मर्मत गर्न नसकिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रोल्पाले बताएको छ ।

मर्मतका लागि उपभोक्ताबाट थुप्रै माग आए पनि बजेट अभावले माग पूरा गर्न नसकिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रोल्पाका वास फोकल पर्सन डिल्लीराज न्यौपानेले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: