कसरी मापन गरिन्छ त हिमालय पर्वतहरुको उचाईं ?

सगरमाथाको उचाई नाप्न भारतले नेपालसँग कुनै सम्झौता गरेको छैन–नेपाल

काठमाडौं, भारत सरकारले हिमालयको उचाई नाप्नका लागि टीम गठन गरेको समाचारले अहिले चर्चा पाएको छ । नेपालको सगरमाथाको उचाई भारतीय पक्षले नाप्ने विषयमा दुबै देशबीच कुनै सम्झौता भने भएको छैन । यो समाचारले हिमालयहरुको उचाई कसरी नापिन्छ त भन्ने जिज्ञासा समेत जन्माएको छ ।
संसारको सबैभन्दा अग्लो मानिने एभरेष्टको उचाई ८ हजार ८ सय ४८ मीटर रहेको छ । गत वर्षको भूकम्पले भूगर्भभित्र भएको परिवर्तनका कारण

सगरमाथाको उचाईमा समेत केही फरक परेको भए त्यसको मापन गर्ने भारतीय टिमले जनाएको छ।

कसरी नापिन्छ त हिमालयको उचाई ?
विविसीमा प्रकाशित आलेख अनुसार, संसारमा कैयन् यस्ता पर्वतहरु अझै पनि नाप्न बाँकी रहेका छन् । पुरानो पद्दतीले मापन गरिएका यी पर्वत र हिमालयहरुको उचाई नयाँ जिपिएस पद्दतीले मापन गर्दा फरक तथ्य देखिएको आलेखमा उल्लेख छ । हालैमात्र ब्रिटेनको सबैभन्दा अग्लो पर्वत बेन नेभिसलाई नयाँ ढंगले नापिदा यसको उचाई ५२७ मीटर बढी पाइएको थियो । सन् १९४९मा यो पर्वतको उचाई १३४४ मिटर रहेको सार्वजनिक भएको थियो ।

यो पर्वतलाई ब्रिटिश सर्भेयर मार्क ग्रीव्सले कैयन् सेटेलाइट र जिपिएस सिष्टमका आधारमा नापेका थिए । बेन नेभिस पर्वतमा एउटा जिपिएस ट्रयाकर राखिएको थियो । यो ट्रयाकरको सोझो सम्बन्ध अन्तरिक्षमा चक्कर काटिरहेको नेभिगेसन सेटेलाइटसँग थियो । यो सेटेलाइटले अलग अलग कोणबाट यो पर्वतको उचाईँ मापन गरेको थियो ।

करीब दुई घण्टाको यो प्रयासमा १२ सेटेलाइटको प्रयोग गरिएको थियो । यो अवधिमा करिब ४लाख बाइट्सको डाटा पृथ्वीमा रहेका स्याटेलाइट कन्ट्रोल सिष्टममा पठाइएको थियो । बीस हजार किलोमीटरको दूरीबाट सिग्नल पठाउने स्याटेलाइटहरुले आकाशबाट बेन नेभिस पहाडलाई हरेक कोणबाट नापिरहेका थिए ।

यसरी प्राप्त भएका सिग्नलहरुबाट एउटा थ्रि डी मोडेल बनाइएको थियो ।

त्यति सजिलो छैन उचाई नाप्न
तर यो जिपिएसले मापन गर्ने कुरा पनि त्यति सजिलो भने छैन । कतिपय अवस्थामा पहाडको चुचुरोमा पुग्न पर्ने कठिनाई, स्याटेलाइट र पहाडमा राखिने कन्ट्रोलबीच सम्पर्कमा देखिने समस्या आदिले पनि प्रभाव पार्छ । गत वर्ष बर्मामाको काकुबोराजी पर्वतलाई नाप्न धेरै समस्या देखा पर्यो । पर्वतमा आरोहण गरिरहेकाहरु मिशन टोलीका सदस्यहरु नसकेर फर्किए ।

पुरानो र नयाँ तरिकाले नाप्दा फरक आउने विविसीले जनाएको छ । इशियाको उलुघ मुटैग पर्वतको उचाईं ७७२३ मीटर मानिन्थ्यो, तर हालै मात्र अमेरिका र चीनको साझा मिशनले यसको उचाई ६९७३ मीटर भएको पत्ता लगायो ।

कैयन यस्ता अन्य पहाड छन् जस्तो कि तिब्बतमा पर्ने लाबुचे काङ थ्री । यसमा अहिलेसम्म कोही चढेको छैन् । दस्तावेजमा यसको उचाईं ७२०० मीटर रहेको बताइन्छ ।

एभरेष्टको उचाईंका बारेमा समेत नेपाल र चीनबीच विवाद कायमै छ । नेपालले ६२ वर्ष अघि गरेको सर्भेका आधारमा यसमा जमेको हिउँलाई समेत जोडेर ८८४८ मीटर उचाई मानेको छ भने चीनले चार मीटर घटाउने पर्ने तर्क दिँदै आएको छ ।

यो पृष्ठभूमिमा भारतीय टीमले सगरमाथाको उचाईँ नाप्न खोजेको कुराले चर्चा पाएको हो । सगरमाथाको उचाई मुख्यतः नेपाल र चीनसँग जोडिएको भएपनि भारतको चासो किन त? भन्ने प्रश्न पनि यसमा जोडिएको छ । भारतले भने दुई महिना लगाएर यसको उचाई नाप्ने तयारी गरिसकेको छ । भलै नेपाल र भारतबीच यसबारेमा कुनै सहमति नै भएको छैन ।

भारतले अनुमति लिएको छैन–नेपाल
भारतको केन्द्रीय नक्शांकन एजेन्सी सर्भे अफ इण्डियाले नेपाल सरकारसँग मिलेर सगरमाथाको उचाई नाप्ने बताएपनि नेपालले भने यस विषयमा भारतसँग कुनै कुरा नभएको स्पष्ट पारेको छ ।

सर्भे विभागका उप प्रमुख गणेश भट्टले विविसीलाई बताए अनुसार भारतसँग सगरमाथाको उचाई नाप्न कुनै सम्झौता भएको छैन । नेपाल आफैले सगरमाथाको उचाई नाप्ने योजना बनाइरहेको छ ।

एजेन्सीहरुमा प्रकाशित आलेखको आधारमा

कमेन्ट गर्नुहोस्