नेविसंघको घोषणाः उमेर हद नहटाए स्ववियु निर्वाचनमा नजाने

काठमाडौं, माघ १३ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनमा उमेरको हद तोकेर त्रिभुवन विश्व विद्यालयले गम्भीर भूल गरेको आरोप लगाएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौंले गरेको एक पत्रकार सम्मेलनमा उपस्थित वक्ताहरुले यस्तो आरोप लगाएका हुन् ।

कार्यक्रममा नेविसंघका उपाध्यक्ष सागर परियारले मिश्रित चुनाव प्रणाली र उमेरको हद तोकेर गरिने स्ववियु निर्वाचनमा नेविसंघले भाग नलिने बताए । त्यस्तै जबरजस्ती गर्न खोजे त्यसको प्रतिकारमा उत्रिने चेतावनी उनले दिए । त्यस्तै उपाध्यक्ष उर्मिला थपलियाले विद्यार्थी हुनको लागि उमेर आवश्यक नभए जस्तै विद्यार्थी आन्दोलन र विद्यार्थीको हकहितको लागि काम गर्नको लागि पनि उमेर नचाहिने बताइन् ।

नेविसंघ जिल्ला कार्यसमिति काठमाडौंका सभापति मनोज वैद्यले उमेर हद तोकेर त्रिभूवन विश्व विद्यालयले स्ववियु निर्वाचन गर्ने सपना देखेको छ भने त्यो दिवा सपना मात्रै हुने बताए ।

तोकिएकै समय फागुन १४ गते नै निर्वाचन हुनपर्छ भन्ने पक्षमा भएको भएतापनि उमेर हद खारेज गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: