ओली सन्केर फर्किए, प्रचण्ड पर्खेर बसिरहे

यी दुई संयोगले अहिलेको राजनीतिक प्रणालीमा देखिएका दुई भिन्न प्रवृत्ति र चरित्रको प्रतिबिम्बन गर्छ ।

काठमाडौं, कहिलेकाहिँ गज्जबका संयोग घटित हुँदा रहेछन् । यस्ता संयोगहरुले घटना, पात्र र प्रवृत्तिलाई उदाङ्ग गरिदिन्छन् ।

नेपालको राजनीतिका कैयन् यस्ता संयोगहरुको श्रृंखलामा बिहिबार एउटा घटनाले सबैको ध्यान तान्यो । स्थानीयदेखि राष्ट्रिय मिडियामा यो घटनाले चर्चा पायो । तर मिडियामा यो

संयोगको एउटा पाटोको मात्रै चर्चा भयो । सिक्काको अर्को पाटो मिडियाले लेखेन या देखेन ।

संयोग थियो छिमेकी जिल्ला स्याङ्ग्जा र पवर्तमा आयोजित दुई कार्यक्रमको । स्याङ्ग्जामा प्रमुख अतिथी थिए पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उता

पर्वतको कुश्माको कार्यक्रममा प्रमुख अतिथी थिए प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ।

यो संयोग जुरायो लोडसेडिङले । उही समयमा, उही परिवेश र प्रकृतिमा ।

स्याङ्जाको वालिङमा आयोजित कार्यक्रममा केपी शर्मा ओलीले भाषण गर्दै थिए, ठीक त्यही समयमा प्रचण्डले कुश्मामा पर्वत महोत्सवमा उपस्थित जनमानसलाई सम्बोधन गर्दै थिए । दुबै कार्यक्रमका आयोजकले सल्लाह गरेर दुबै प्रमुख अतिथी बोल्ने समय एउटै पक्कै पनि पारेका थिएनन् होला । तर संयोग त्यस्तै पर्यो ।

र, उनीहरुले सम्बोधन गरिरहेकै बेला अकस्मात माइक बन्द भयो ।

प्रमुख अतिथीले सम्बोधन गरिरहेको बेला अकस्मात बत्ती बन्द हुनु र तत्कालै जेनेरेटर नचल्नु आयोजकहरुका लागि समेत सुखद पक्कै थिएन ।

प्रचण्डले पर्वत उद्योग वाणिज्य महासंघ र स्थानीय राजनीतिक दलहरुका तर्फबाट बुझाइएको ४ बुँदे ज्ञापनपत्रका बारेमा बोलिसकेका थिए । उनले कोरला नाका खुलेपछि पर्वत व्यापारिक केन्द्र बन्ने, कालीगण्डकी करिडोरसँग पर्वतका ६ वटा जलविद्युत आयोजना जोडिने वित्तिकै विद्युत हब बन्ने र पोखरा भित्रिने पर्यटक पर्वत तान्नेगरी पर्यटनको विकास गर्ने सम्भावनाका बारेमा बोलिसकेपछि भने– अब म केही कुरा सरकार र देशको परिस्थितिको बारेमा गर्न गइरहेको छु…।

वाक्य पुरा भयो र योसँगै बत्ती गयो । माइक बन्द भयो ।

प्रचण्ड रोकिएनन, दशौं हजार सहभागी महोत्सवलाई उनले बिना माइक नै सम्बोधन गर्न खोजे– देश अहिले जटिल…
आयोजकहरुले माइक चलाउन खोजे, बत्ती गएको स्पष्ट भयो ।

प्रचण्ड एकछिन रोकिए । त्यसपछि आफ्नो मुख्य अतिथीको कुर्सीमा आएर बसे ।
यता दर्शकदीर्घा र मञ्चमा बसेकाहरुबीच कानेखुशी चल्यो– पर्वतमा त त्यसै पनि बत्ती नजाने, प्रचण्डले राजनीतिक कुरा गर्न खोज्दाखेरी अचानक बत्ती गयो, कतै नियोजित तरिकाले त

बत्ती बन्द गरिएन ?

कतिपयले विद्युत प्राधिकरणमा फोन हान्न मोबाइल झिके ।

प्रचण्ड भने यथास्थानमा बसिरहे । आयोजकहरुले जेनेरेटर चलाउन खोजे, तर तत्काल त्यो पनि चलेन ।

प्रचण्डले रिस देखाएनन्, अधैर्यता पनि देखाएनन् । उनी बसिरहे ।

दर्शकदीर्घाबाट समेत कुनै हुटिङ भएन । सौम्यता कायम थियो, धैर्यता कायम थियो पर्वतवासीको ।

करिब ३, ४ मिनेटपछि माइक चल्यो ।

प्रचण्ड रोष्टममा गए, माइक समाते ।

उनले बत्ती गएको विषयमा केही टिप्पणी गर्लान् भन्ने धेरैले आँकलन गरेका थिए । तर उनले यसबारेमा एक शब्द बोलेनन् ।

उनले सोझै भाषण शुरु गरे– मैले तपाईहरुलाई देश जटिल परिस्थितिमा रहेको कुरा गरिरहेको थिएँ…।

यो प्रचण्ड उपस्थित कार्यक्रमको दृश्य थियो ।
….
ठीक यही समयमा उता स्याङ्जामा ओलीले भाषण गर्दा बत्ती गएपछि उनको पारो तात्यो । उनले यसलाई अनपेक्षितरुपमा लिए । आयोजकहरुले आफूलाई अपमान गरेको शैलीमा यसलाई लिए ।

कार्यकर्ताहरु अधैर्य भए । नेपालमा १८ घण्टासम्म पनि बत्ती जाने गथ्र्यो र नेताहरुले पनि विगतमा घाँटी सुकाएरै कार्यकर्तामाझ भाषण दिने गर्थे भन्ने कुरा बिर्से ।

उनीहरुलाई लाग्यो, यो षडयन्त्र हो । ओलीलाई बोल्न नदिन सरकारले गरेको षडयन्त्र ।

छैटौं वालिङ महोत्सवमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राख्दै गर्दा विद्युत अवरुद्ध भएपछि षड्यन्त्र पूर्वक लाइन काटिएको भन्दै कार्यक्रमा सहभागिले नाराबाजी गर्दै ढुंगा प्रहार गरे ।

‘जसको मन जस्तो छ, उसले त्यही देख्छ भन्छन’ यस्तो अवस्थालाई हामीकहाँ ।

षडयन्त्र थियो भने त्यो प्रचण्डका लागि पनि हुनुपथ्र्यो होला । किनभने एउटै प्रसारण लाइनको बत्ती गएको थियो ।

कार्यकर्ता र दर्शकले अधैर्यता देखाएपनि ओलीले धैर्यता देखाउन पथ्र्यो । तर उनले झनै आफूलाई सम्हाल्न सकेनन् ।

ओलीले भाषण गर्न चाहेनन् । उनी रोष्टम छोडेर निस्किए ।

…………
यी दुई संयोगले अहिलेको राजनीतिक प्रणालीमा देखिएका दुई भिन्न प्रवृत्ति र चरित्रको प्रतिबिम्बन गर्छ ।

एकातिर ओली छन् । औडाहा, दम्भी, जिद्दि र अव्यवहारिक । आफूले भनेको हुनैपर्ने, त्यो ठीक होस् या नहोस् । हरेक कुरामा षडयन्त्र देखिहाल्नुपर्ने । अतार्किक अतिवाद, अवैज्ञानिक राजनीतिक चिन्तन र व्यवहार । बुझेर पनि बुझ पचाउने र चीजलाई अनावश्यकरुपमा तरंगित गर्न खोज्ने । हुल्याहरुको जमातको भरमा ।

अर्कोतर्फ प्रचण्ड छन्, परिस्थितिको आँकलन गर्ने । यस्तो भएछ है, तर यस्तो यो यो कारणले भएको हुनुपर्छ भनेर परिस्थितिलाई बुझने । परिस्थिति अनुकूल छैन भन्दैमा आत्तिएर हुन्न बरु धैर्यताका साथ अघि बढ्नु पर्छ भन्ने । विषम परिस्थितिमा पनि सन्किनु हुन्न भन्ने प्रवृत्ति ।

यही चिन्तन र प्रवृत्तिका कारण नै होला, आफू सरकारमा गएदेखिका हरेक दिन उनले नयाँ नयाँ आलोचना झेलिरहेका छन । र, पनि अघि बढेका छन् आफ्नै गतिमा ।

आज एउटा आलोचना सर्वत्र फैलिन्छ, लाग्छ, प्रचण्ड अब आत्तिए । तर प्रचण्ड एककदम अघि हिँडिसकेका हुन्छन्, त्यो आलोचना त्यसै स्खलित हुन्छ । भोली अर्को आलोचना आउँछ झनै डरलाग्दो । सोचिन्छ, यो आलोचनाले त सरकार धर्मराउँछ होला, तर होइन, प्रचण्ड फेरी अर्को बल प्रहार गर्छन र अघि बढ्छन् । कम्तीमा उनले झेलका यी ४, ५ महिनामा सयबढी यस्ता आलोचनाको बाढी उनले झेले । तर उनी आफ्नै सूरमा हिँडिरहेका छन् । आलोचकहरुसँग जवाफ नै नहुने गरी ।
….
स्याङ्जाको वालिङमा ओलीले पर्वतको कुश्मामा प्रचण्डले देखाएको व्यवहार देखाएका भए उनकै उचाई बढ्थ्यो । राजनीति र राजनीतिमा राजनेता बन्ने गुण छूद्रतामा होइन, सन्तुलनमा हो, सौम्यतामा हो, कठीन परिस्थितिलाई समेत अनुकुलतामा बदल्ने अठोटमा हो । हिजो सडकको आन्दोलन स्थगित गरेर राजनीतिक जडतालाई १६ बुँदे सम्झौतामार्फत संविधान निर्माणसम्म पुर्याउन प्रचण्डको यही प्रवृत्तिले काम गरेको थियो । आज बनिसकेको संविधानमा हुने संशोधनलाई सदन बहिस्कार गरेर र छलफल नै गर्न नदिएर असफल पार्न ओलीको यही प्रवृत्तिले काम गरिरहेको छ । यो पनि इतिहासको संयोग हो । माक्र्सले भनेझैं पहिलो सुखद घटनाका रुपमा त दोश्रो प्रहसनका रुपमा ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: