धादिङ, माघ १४। सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
धादिङबेँसीस्थित जिल्ला विकास समितिको कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “अब निर्वाचनको बिकल्प छैन, तपाईँहरु स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुहोस् ।”
विकास निर्माणको काममा ढिलाई भइरहेकामा चासो व्यक्त गर्दै मन्त्री पाण्डेले जनताले चाँडो प्रतिफल पाउने गरी विकासका काम गर्नुपर्ने बताउनुभयो । उहाँले निजी आवास निर्माण र भूकम्पपछिको पुनःनिर्माणको कामलाई तीव्रता दिन आग्रह गर्नुभयो ।
यसैबीच, प्रेस सेन्टर धादिङ शाखाले आजै आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पाण्डेले स्थानीय तह पुनःसंरचना गर्न गठित आयोगले दिएको प्रतिवेदनलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्ने बारेमा छलफल भइरहेको बताउनुभयो । प्रतिवेदनलाई मन्त्रिपरिषद्मा छलफलका लागि लैजान आफूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा प्रस्ताव दर्ता गराएको उहाँको भनाइ थियो ।
सर्वस्वीकार्यता बढाउँदै संविधानको कार्यान्वयन र स्थानीय तहको निर्वाचन गर्न नै वर्तमान सरकार गठन भएको बताउँदै मन्त्री पाण्डेले संविधानमा सबैको अपनत्व बढाउन गराउन सरकाले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराएको बताउनुभयो । सरकारले दर्ता गराएको संशोधन प्रस्ताव पारित हुने उहाँको दाबी थियो ।
स्थानीय तहको निर्वाचन कहिले हुन्छ भन्ने पत्रकारको जिज्ञासामा मन्त्री पाण्डेले अब केही दिनभित्रै सरकारले निर्वाचनको मिति घोषणा गर्ने बताउनुभयो ।