सोमबार चुनाव मिति घोषणा हुने सभामुखको भनाई

मोरङ, माघ १५ । सभामुख ओनसरी घर्तीमगरले सोमबारसम्ममा स्थानीय तहको चुनावको घोषणा हुने बताएकी छन् । विराटनगर विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख मगरले विधेयक पास भएलगत्तै सबै दलको सहमतिमा निर्वाचनको मिति घोषणा हुने बताइन् ।

‘अहिले जे आशंकाहरु भइरहेको छ त्यो स्वाभाविक हो तर धैर्य गर्नुस् सोमबारपछि स्थानीय तहको निर्वाचन मिति घोषणा हुन्छ। ’

सभामुख घर्तीले मधेसी मोर्चाको सहमतिमा चुनाव हुने बताइन । निर्वाचनको मिति घोषणा अगाडि नै मधेसी, थारु लगायतको माग संबोधन हुने गरी संबिधान संशोधन प्रस्तावमा समेत दलहरुबीच सहमति हुने उनले बताइनन्

‘मधेसी मोर्चाको समेत निर्वाचनसम्बन्धी विधेयकमा सहमति रहेकोले निर्वाचनको बारेमा कुनै शंका नगर्न आग्रह छ,’ उनले भनिन् ।

उनले २०७४ माघभित्र तीनवटै चुनाव गर्न दलहरुले सहमति गर्ने विश्वास लिइन ।

‘अहिले आइरहेको अभिव्यक्ति दलहरुको आ–आफ्नो भएको तर टेबलमा बसेपछि केही छोडेर र केही लिएर सहमति हुन्छ’, उनले भनिन्, ‘दलीय स्वार्थन्दा माथि उठेर राष्ट्र र जनताको पक्षमा निष्कर्ष दिन राजनीतिक दलले लचिलो भूमिका निर्वाह गर्नैपर्छ ।’

उनले संविधान कार्यान्वयनका लागि बाँकी विधेयकहरु सरकारले समयमा नै पारित गराउने कार्य तिव्रताका साथ अगाडि बढिरहेको जानकारी दिइन ।

अन्तरपार्टी महिला संघ मोरङले निर्वाचनमा महिला सहभागिता बढाउनु पर्ने माग गर्दै सभामुख घर्तीमगरलाई ज्ञापन पत्र बुझाएका छन् ।

स्थानीय तहको निर्वाचनमा अध्यक्ष पुरुष भए उपाध्यक्ष महिला र अध्यक्ष महिला भए उपाध्यक्ष पुरुषको व्यवस्थाको ग्यारेण्टी हुनु पर्ने ज्ञापन पत्रमार्फत् माग गरिन् ।

ज्ञापन पत्रमा कानुनमा भएको महिलाको ४० प्रति सहभागिता कार्यान्वयन हुनु पर्ने उल्लेख छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: