९ कक्षाका बिद्यार्थीले गरे शहीदको सम्झना

काठमाडौँ,१५ माघ । सीतापाइलास्थित शिशु निकुञ्ज उच्च माविका विद्यार्थीले शहीद दिवसको बारेमा शनिबार विविध कार्यक्रम आयोजना गरेका छन् ।

कार्यक्रममा कक्षा ९ का रेश्मा थापामगर,दिलाशा अधिकारी र ऋचा सिंहले शहिदहरुको जीवनीको बारेमा चर्चा गरे । शिशु निकुञ्ज बाल क्लबकी अध्यक्ष सजना तामाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबकी सदस्य रिता ताजपुरियाले गरेकी थिइन् । समारोहमा शहिदको तस्वीरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारी र विद्यार्थी सहभागी थिए ।

विद्यार्थीको संस्था शिशु निकुञ्ज बाल क्लब र स्थानीय नागार्जुन कम्युनिकेसन,स्टेसनरी एण्ड सप्लायर प्रालिको संयुक्त आयोजमा सम्पन्न शहीद दिवस समारोहका सहभागीले देश र जनताका लागि बलिदानी दिने शहिदहरुको योगदानको कदर हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै विद्यालयका प्रिन्सिपल प्रकाशमान शाहीले नेपालका प्रमुख राजनैतिक परिवर्तनमा शहिदहरुको भूमिका रहेको चर्चा गरे । “शहिदको सपना साकार पार्न सके त्यो नै उनीहरुप्रति सच्चा श्रद्धाञ्जली हो ।” नागार्जुन कम्युनिकेसन,स्टेसनरी एण्ड सप्लायर प्रालिका सञ्चालक माधव अधिकारीले भने ।
सोही अवसरमा बाल क्लबले प्रकाशन गरेको मासिक भित्तेपत्रिकाको विमोचन विद्यालयका प्रिन्सिपल शाहीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: