एउटै मञ्चमा बैद्य, प्रचण्ड र बाबुराम, कुलमानलाई सम्मान गर्दै प्रचण्डले भने–‘मेरो सपना पूरा गर्नुभयो बधाई’

काठमाडौँ, माघ १५ । लामो समयपछि नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराई एउटै मञ्चमा सँगै देखिएका छन् ।

शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित सोनाम ल्होसार कार्यक्रममा तत्कालीन प्रचण्ड नेतृत्वको एमाओवादीबाट अलग्गिएका तीनै नेता एउटै मञ्चमा बसेर सम्बोधन गरेका हुन् । प्रधानमन्त्रीले नेपाल विदयुत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई सम्मान गरेका थिए ।

घिसिङलाई सम्मान गर्दै प्रधामन्त्रीले काठमाडौँमा देशभर लोडसेडिङ अन्त्य गर्ने आफ्नो सपनालाई पूरा गरेकोमा घिसिङलाई बधाई दिए । एक–दुई वर्षयता आफू कुलमान घिसिङलाई उचित जिम्मेवारी दिने मौकाको खोजीमा रहेको बताएका थिए ।

तामाङ जातिको नयाँ वर्ष सोनाम ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– ‘नेपालमा लोडसेडिङको अन्त्य र विद्युतीकरण गरेर मात्र देशमा समृद्धि हासिल गर्न सकिन्छ भन्ने मेरो सोंच हो । कुलमान घिसिङजीको क्षमता र इमान्दारितालाई मैले विगत एक–दुई वर्षयता नजिकबाट हेरिरहेको थिएँ । कति बेला मौका मिल्ला र उहाँलाई उचित जिम्मेवारी दिन सकिएला भन्ने मौकाको खोजीमा थिएँ, प्रधानमन्त्री भएपछि त्यो मौका मिल्यो, सरकारले उहाँलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनायो । आज उहाँले हाम्रो विश्वासलाई व्यवहारमा उतार्नुभएको छ । म उहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । जिम्मेवारी पायो भने जुनसुकै जाति र समुदायको व्यक्तिले गरेर देखाउन सक्छ भन्ने तामाङको छोरो कुलमानजीले प्रमाणित गरेर देखाउनुभएको छ । ’

कार्यक्रममा प्रधानमन्त्रीले जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित गणतन्त्रले महत्वपूर्ण परिवर्तन ल्याएको बताए ।

‘अहिले राष्ट्रपति महिला हुनुहुन्छ, उपराष्ट्रपति जनजाति समुदायको हुनुहुन्छ, प्रधानन्यायाधीश महिला हुनुहुन्छ, सभामूख जनजाति समुदायको महिला हुनुहुन्छ, उपसभामूख मधेशी हुनुहुन्छ । यो सबै जनयुद्धकै राजनीतिक र परिवर्तनकारी सोंचको देन हो । अझ संयोग भनौं, उहाँहरु सबैलाई प्रस्ताव गर्ने संयोग पनि मलाई नै जुट्यो,’ प्रधानमन्त्रीले बैद्य र भट्टराईलाई सँगै राखेर भने ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: