जनताको अधिकार रक्षाका लागि खुकुरी धारको सामना गरिन्छ–प्रधानमन्त्री

काठमाडौँ, माघ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समस्या समाधानका लागि जस्तौसुकै चुनौती सामना गरेर पनि अघि बढ्न सरकार तयार रहेको बताएका छन् । तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधानको सफल कार्यान्वयनबाटै देशको समस्या समाधान हुने बताए ।

उनले संविधान कार्यान्वयनको सन्दर्भमा जटिलता र चुनौती रहेको भन्दै त्यसलाई चिरेर अघि बढ्न सरकार तयार रहेको बताए । ‘संविधान कार्यान्वयन लगायतमा अप्ठेरा, चुनौतीहरु छन् । दायाँ, बायाँ खुकुरीको धार अवश्य छन्’ उनले भने, ‘त्यही जटिलता र चुनौतीमा अवसर पनि हुन्छन्, सबै चुनौतीको सामना गरिनेछ ।’

प्रधानमन्त्री दाहालले सबै उत्पीडित समुदायको एकता अनिवार्य रहेको पनि बताए । एकात्मक राज्यको अन्त्य र संघात्मक राज्य बनाउन हजारौंले बलिदानी गरेको स्मरण गर्दै उनले सबैको सहयोगको बलमा संविधान संशोधन, परिमार्जन गरी निर्वाचनमार्फत् प्राप्त उपलब्धिको रक्षा गर्ने बताए ।
उनले संविधानलाई सबैमा स्वीकार्य बनाउन संशोधन गर्ने प्रक्रिया अघि बढाइएको भन्दै सबै उत्पीडित जातिको अधिकार र पहिचान बढाउने कुरामा विश्वस्त हुन तामाङ समुदायलाई आग्रह गरे । ‘संविधानमा सीमाहरु छन्, कमी कमजोरी छन् । तर यो एउटा गतिशील दस्तावेजको रुपमा परिमार्जन हुँदै जान्छ’, प्रधानमन्त्रीले भने, ‘संविधान (दोस्रो संशोधन) ले मधेसी जनजाति समुदायको अधिकारलाई बढाउने र निर्वाचनमा जाने बाटो खुल्नेछ ।’

प्रधानमन्त्रीले नेपाल तामाङ घेदुङको भवन निर्माण लगायतका लागि सरकारले गत वर्ष दिइएको भन्दा दोब्बर दिइने आश्वासन दिए ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य कपिल लामा, नेकपा एमालेका सांसद शेरबहादुर तामाङ, सोनाम ल्होसार मुल आयोजक समितिका संयोजक मोहन गोले लगायतका वक्ताहरुले सोनाम ल्होसार राष्ट्रिय संस्कृतिको विकास, तामाङ समुदायको उत्थान र राजनीतिक अधिकार प्राप्तिको दिशामा सकारात्मक योगदान गर्ने धारणा राखेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: