शहीद बन्नुपर्ने जनता, उपलब्धिमा लडाई गर्ने नेता

अहिले ती चार शहीदहरूलाई शहीदगेटमा हेर्दा र आफूलाई त्यही शहीदको कोटीमा उभ्याउंदा प्रत्येक नेपालीले आफूलाई मूर्खको रूपमा सोच्दा होलान्।

थाहा छ नेपालमा सबैभन्दा ठूलो मूर्ख को हो– अनायाशै रविदाइले प्रश्न गर्नुभयो। सामुदायिक राजनीतिको विषयवस्तुबारे कुराकानी गरिरहेका थियौं त्यसबेला। देशबारे एकछिन भए पनि कुरा गर्दा खुशी लाग्छ। किनभने आजभोलि देशको स्थिति र अवस्थाबारे कसलाई सोच्ने फर्ुसद छ, अनि देश भन्नेहरूले देश कतातिर लम्कंदैछ भन्ने पनि मतलब नरहेको अवस्थामा बसेका हामीहरूले देशबारे सोचेका थियौं, त्यसबेला। अरूले नठाने पनि आफूले आफैंलाई राष्ट्रवादी भनेका थियौं त्यस बेला।

रविदाईको प्रश्नको उत्तर सहज त थियो। हामीहरूले एकै स्वरमा भन्यौं–हामी जनता। तर उहांले मतिर फर्केर भन्नुभयो – ती चारजनासंगै गएर फोटो खिंचाउनुस्। पांचौं मूर्ख अनि तपाई बन्नुहुनेछ। सहज उत्तर सुनेर एकछिन त सबै हांस्यौं। एकले अर्कोको मुख पनि हेर्‍या-हेर्‍यैं गर्‍यौं। तर एकछिनपछि सबैका अनुहारका हांसोहरू क्रमशः विलीन हुन थाले। ती चारजनाको मूर्तिसंगै आफनो जिउंदो अनुहार समावेश गर्दा आफू पनि जिउंदै शहीद बनेको भान हुन थाल्यो।
कस्तो विडम्बना रहेको छ अहिले । एउटा प्रबुद्धले वर्तमान राजनैतिक तरलता समाप्त भएको कुनै सम्भावना नदेख्दा शहीदहरूलाई मूर्खको संज्ञा दिन पुगे र आफैंलाई त्यही श्रेणीमा उभ्याए। एकछिन रविदाइको प्रश्न र उत्तरलाई सोच्दा सांच्चै ती चारले अनाहकमा आफूलाई शहीद बनाएका रहेछन् जस्तो प्रतीत भयो। भर्खरै विवाह गरेका गङगालालले आफनो छोराको समेत अनुहार हेर्न पाएका थिएनन्। छोराछोरी र आफन्तहरूका लागि मात्र बांच्नेहरूको भीड, जमात भएको अवस्थामा प्रजातन्त्रको सुखद कल्पना गर्ने गङगालाल अनाहकमैं शहीद बनेजस्तो भान भयो।

दाइ (दशरथचन्द) नआत्तिनुस्, म राणाहरूसंग माफी माग्दिनं। तपाईलाई गोली लागेको देखेपछि मैले माफी मागुंला भन्ने सोच्नुभएको छ भनेर किन गङगालालले भनेका होलान्।

“स्याबास बेटा, देशके लिए कुर्बान हुए तुम, मै धन्य हो गया’ भनेर फांसीमा झुन्डिएका छोरा शुक्रराज शास्त्रीको शरीर हेरी किन वृद्ध माधवराज जोशीले त्यसबेला भने होलान्। अनि धर्मभक्त माथेमाले तत्कालीन राजा त्रिभुवनलाई व्यायाम सिकाउंदा उनका पात्रहरूलाई बाहिर नेताहरूसमक्ष किन पुर्‍याएका होलान्।

अहिले ती चार शहीदहरूलाई शहीदगेटमा हेर्दा र आफूलाई त्यही शहीदको कोटीमा उभ्याउंदा प्रत्येक नेपालीले आफूलाई मूर्खको रूपमा सोच्दा होलान्। २०४६ सालको जनान्दोलन होस् वा २०५२(०५३ को आन्दोलन, कति शहीद बने, कति रगत बग्यो, कतिका बालक टुहुरा बने। आंसुका भेलमा कति पत्नीहरू बगे। आज सबै निर्रथक बनिसकेको छ। शेष छन् भने मात्र ती शीर्ष नेताहरू, जो कहिले सहमति शब्द रट्न पुग्छन् र अन्ततः फेरि बहुमतीय प्रणालीकै दौडमा सरिक बन्छन्। आखिर किन पचाउन सकिरहेका छैनन् ( के जनताले मात्र सहमत हुने हो ( नेताहरूको आह्वानमा प्रजातन्त्र शब्दकै लागि सदैव उर्त्र्सग गर्ने हो। प्रजातन्त्र शब्दको लागि, प्रजातन्त्रको स्थापना वा पुनर्स्थापनाको लागि काङ्ग्रेस, कम्युनिस्ट विचारधारामाथि विश्वास गर्ने, दुइ भिन्न विचारधारामा विभाजित जनता एकमत हुन सक्ने, कांधमा कांध मिलाई निरङ्कुशताविरुद्ध सडकमा उत्रन सक्ने, तर प्रजातन्त्र र गणतन्त्रजस्ता शब्दको सपना देखाउन खोज्ने नेताहरू भने सहमत हुन नचाहने। यो कस्तो विडम्बना, यस्तो स्थिति सिर्जना हुनुलाई जनताले नियति मात्र ठान्ने वा देशको राजनीतिक संस्कृतिको विशेषता (

अहिले प्रत्येक पार्टीहरूको आ(आफनै अभीष्ट रहेको छ। काङ्ग्रेस हुन् वा एमाले, माओवादी हुन् वा मधेशवादी, प्रत्येकले मात्र सत्ता प्राप्ति गर्न खोजेको छ। तर अहिलेको माग सत्ता मात्र त हैन। जनादेश प्रधानमन्त्री बन्नको लागि पार्टीहरूलाई दिइएको निर्देश पनि त हैन। जनताको एउटै माग छ, अहिले( देशको लागि नयां संविधान। तर संविधान शब्दमैं सीमित बन्न पुगेको छ अहिले। यस्तो स्थिति सिर्जना भएको हुंदा आज विभिन्न वादमाथि आस्था राख्ने जनता आ(आफनो भविष्यप्रति विश्वस्त हुन सकिरहेको छैन।

फेरि बहुमतीय प्रणालीबाट सरकार बन्ने। एउटा पक्ष बहुमत सिद्ध गरी सरकारमा जाने, अर्को पक्ष(विपक्षमा बस्ने। फेरि त्यही पुरानै अवस्था दोहोरिने। पार्टीहरूले सहजरूपमा एक अर्कामाथि दोषारोपण गरेर आफूलाई चोखो बनाउन सक्छन्। देश र आफनो भविष्य सुखद नहुने जनताले अन्ततः कुन पार्टीलाई दोष दिने ?

कस्तो स्थितिभित्र जनता बांच्न विवश भएको छ। अहिले कुनै विदेशी राष्ट्रले प्रत्यक्ष हस्तक्षेप गरेको भए चुप लागेर विदेशी राष्ट्रमाथि आरोप लगाउन सक्थ्यो जनताले, तर अहिले विदेशी हैन, स्वदेशी नै आफनो राष्ट्रको अस्थिरताको लागि दोषी बनेका छन्।

जनता शक्तिशाली हुन्छ। आंधी बेहरी जनताले ल्याउन सक्छ। तानाशाहलाई ढाल्न सक्छ। शायद अहिले शब्दभित्रै ती तथ्यहरू सीमित भएका छन्। नेपाली जनताले अब केही पनि गर्न सक्तैन। कुनै एक पार्टीको नेतृत्वमा ज्यान उर्त्र्सग पनि गर्न सक्तैन। तर सोझा जनतालाई अझैं पनि भ्रम बांडेकै छन् प्रत्येकले। अझ पनि सपना देखाएकै छन् प्रत्येकले। काङ्ग्रेसले प्रजातन्त्र स्थापना गराउला, एमालेले बहुदलीय जनवाद ल्याउला, मधेसवादी दलहरूले मधेसीको आत्मसम्मान बढाउला अनि माओवादीले जनवाद गणतन्त्र स्थापना गर्ला। तर जनता भने चुपचाप मौन भई बस्न बाध्य भएको छ। जनता आफैंले क्रान्ति वा आन्दोलन गर्दैन। कुनै पार्टी वा पार्टीका नेताको नेतृत्वबाट मात्रै आफनो अभीष्ट प्राप्त गर्छ। तर नेतृत्व वर्गमाथि अब कसरी जनता विश्वस्त हुनेरु

अतीत, वर्तमान र भविष्य यी तीनै काललाई बोध गरेको जनताले अब निश्चितरूपमा आफूलाई चार शहीदको कोटीमा उभ्याए बरु बेस हुन्छ। बरु सक्छ भने शहीदगेट पुगेर ती चारका मूर्तिहरूलाई एकै ठाउंमा राखेर आफनो तस्बिर खिंचाए हुन्छ। जिउंदै शहीद बनेको देख्न पाए बरु बेस हुने थियो। दिनहुं, प्रतिक्षण राजनीतिको खेलभित्र पिल्सिएर निस्सासिनुभन्दा शहीदहरूसंगै आफूलाई उभ्याएर खिंचाइएका तस्बिर हेरी एकपल्ट फेरि हांसे हुन्थ्यो। जनवाद, प्रजातन्त्र भन्नुभन्दा बरु आफूलाई जिउंदो शहीद भने बेस हुन्थ्यो। एउटा युद्धको फल, एउटा आन्दोनलको उपलब्धि पाएको भनी आफनो मनलाई सान्त्वना त दिन सक्थ्यो।

प्रतिक दैनिकबाट

तस्वीरः उमेश श्रेष्ठ (www.facebook.com/umesbw)

कमेन्ट गर्नुहोस्