विचल्लीमा परे बालबालिका

जाजरकोट, माघ १६। जाजरकोट ढिमे–२ मालुबेलामा डोल्पाका चार बालबालिका विचल्लीमा परेका छन् ।

डोल्पा फुलचिङ खदाङका बाबु बुद्धिबहादुर बुढाको हत्या भएको र आमा रतनकली कामीले दोस्रो बिहे गरेर गएपछि उनीहरु विचल्लीमा परेका हुन् ।

अज्ञात व्यक्तिले छ वर्षअघि बाबुको हत्या गरेको र एक वर्षअघि आमा रतनकलीले डाँडागाउँ ७ चाउले चौरमा बिहे गरेर गएपछि चार वर्षीय अनिल, छ वर्षीय रेखा, आठ वर्षीय चन्द्रा र १० वर्षीय पार्वती बिचल्लीमा परेका हुन् । द्वन्द्वकालमा (माओवादी) पार्टीका कार्यकर्ता हुँदा अन्तरजातीय विवाह गरेका उनीहरू–९ वर्षदेखि ढिमेको मालुबेलामा बस्दै आएका थिए ।

बाबुको हत्या भएको पाँच वर्षसम्म आमा रतनकलीले मजदुरी गरेरै छोराछोरीको लानपालन गरेको स्थानीय जगत मल्लले बताउनुभयो ।

जग्गा–जमिन, घरबास केही नहुँदा ३० वर्षीय रतनकलीले छोराछारीको लालनपालन गर्न नसक्ने अवस्था आएपछि दोस्रो विहे गर्न बाध्य भएको मल्लले बताउनुभयो ।

‘ती बालबालिकाको आफन्त छन् वा छैनन्, कसैले वास्ता गरेका छैनन’ उनले भने– ‘चारै भाइबहिनीलाई डोल्पा घर छ, छैन भन्ने पनि थाहा छैन।’ उनीहरुका लागि प्रमुख समस्या भनेको नै गाँस, बास र कपासको हो, उहाँले भन्नुभयो– गाउँमा अर्काको गोठाला गरेर उनीहरू पेट पाल्न बाध्य भएका छन् ।

गरिबीका कारण नाबालक नातिनातिनाको लालनपालन गर्न नसकेको ७० वर्षीय हजुरआमा देवी कामीले बताइन् । ‘मागेर कसरी लालनपालन गर्ने रु’ उहाँले भन्नुभयो– ‘कमाइ गर्ने कोही नहुँदा समस्या भएको छ ।

गोठाला गरेर गाँसबास र लत्ताकपडा जुटाउनुपरेको छ । पठनपाठनको व्यवस्था मिलाउन सकिएको छैन ।’ घरको आर्थिक अवस्था कमजोर रहेकाले समस्या भएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: