द्वन्द्वपीडित सबैले राहत पाउने शान्तिमन्त्रीको घोषणा

काठमाडौं, माघ १६ । शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले द्वन्द्वपीडित सबैले राहत पाउनजे घोषणा गरेकी छन् । आइतबार काठमाडौंको गोकर्णमा शान्ति मन्त्रालय र राष्ट्रिय शहीद तथा शान्तिस्मारकले आयोजना गरेको राष्ट्रिय सहिद एवम् वर–पिपल वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै उनले विगतमा राहत नपाएका द्वन्द्वपीडितलाई राहत वितरणका लागि कार्यदल गठन गरेको जानकारी दिइन ।

शान्ति प्रक्रियाका वाँकी काम तीव्र रूपमा सम्पन्न हुन लागेको भन्दै मन्त्री यादवले सहिदस्मारक निर्माण सम्पन्न भएपछि शहीदप्रति थोरै भए पनि न्याय हुने उनले बताइन ।
“विगतमा राहत नपाएका द्वन्द्वपीडितलाई राहत वितरणका लागि कार्यदल गठन भएको छ, अव पीडित सबैले राहत पाउनेछन्, सहिद स्मारक बनेपछि शान्ति स्थापनाका ठोस् आधार तयार हुनेछ, द्वन्द्वपछिको पुनःनिर्माणलाई पनि मन्त्रालयले तीव्रता दिनेछ”–उनले भनिन ।

मन्त्री यादवले सरकारको निर्णयअनुसार निर्माण भइरहेको स्मारक सम्पन्न गर्न विसं २०७२ वैशाखको भूकम्प र सोही वर्षको असोज पछिको अघोषित नाकाबन्दीले केही ढिलाइ भए पनि अव छिटो सम्पन्न हुने अपेक्षा रहेको बताइन ।

कार्यक्रममा सांसद रामेश्वर फुयाँल, अम्बिका बस्नेत र पेम्बा लामा, मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा, स्मारक निर्माण समितिका अध्यक्ष सुदर्शन सिग्देलले शान्ति, लोकतन्त्र र राष्ट्रिय एकताका लागि निर्माण भइरहेको स्मारक सम्पन्न गराउन सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।

गुरुयोजना बनाएर विसं २०६८ देखि निर्माण सुरु भएको स्मारकको ७१ प्रतिशत काम सम्पन्न भएकाले बाँकी २९ प्रतिशत काम पनि विसं २०७४ चैत मसान्तसम्ममा सक्ने लक्ष्यका साथ काम भइरहेको महासचिव त्रिलोचन पौडेलले जानकारी दिए ।

मन्त्रिपरिषद्ले विसं २०६४ जेठ ११ गते गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा शहीदका नाममा स्मारक निर्माण गर्ने निर्णय गरेको थियो ।

स्मारक अन्तर्गत बन्नेगरी पाँचवटा सहायक पार्क निर्माणको गुरुयोजना पनि मन्त्रालयले स्वीकृत गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: