चुनाव मिति घोषणा गर्न मधेसी मोर्चा सहमत, दुईदिनभित्र घोषणा गरिने

काठमाडौं, माघ १७ । स्थानीय निकायको चुनावको मिति घोषणा गर्न मधेसी मोर्चा सहमत भएको छ । सोमबार बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सत्तारुढ दल र मधेसी मोर्चाको बैठकमा दुईदिन भित्रमा चुनावको मिति घोषणा गरिने सहमति बनेको हो ।

तर मधेसी मोर्चाले चुनाव अघि संविधान संशोधन हुनुपर्ने बताएको छ । भरखरै सकिएको बैठकमा स्थानिय निकायको चुनाव, संविधान संशोधन र राज्यपुनर्संरचना आयोगको प्रतिवेदनमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाको सहमति विना चुनावको मिति घोषणा नगर्ने प्रतिवद्धता जनाएका छन् । ‘म अहिलेको गठनबन्धन कायम राख्दै अगाडी बढ्ने पक्षमा छु ’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै सदभावना पार्टीका नेता लक्ष्मणलाल कर्णले भने, ‘तपाईको सहमतिका आधारमा नै चुनाव हुन्छ त्यसकै आधारमा म चुनावको मिति घोषणा गर्छु तर तपाईहरुले सहज वातावरण बनाउन सहयोग गर्नुपर्यो ।’

चुनावको मिति घोषणा गर्न मोर्चाले दुईदिनको समय मागेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले स्थानीय निकायको चुनावमा जाने विषयमा मधेसी मोर्चा सहमत भएपनि पहिले संविधान संशोधन गर्नेपर्ने बताएकाले प्रतिपक्ष दलसँग समेत छलफल गरेर दुईदिनमा सहमति खोज्ने सहमति भएको बताए । ‘चुनावका विषयमा मधेसी मोर्चापनि सकारात्मक छ ’ श्रेष्ठले भने ।

बालुवाटार सम्बद्ध स्रोतका अनुसार प्रधानमन्त्री संविधान संशोधन प्रस्तावलाई अघि बढाएर चुनाव मिति घोषणा गर्ने तयारीमा छन् । मोर्चा चुनावमा जान तयार भए संविधान संशोधन विधेयकमा पुरक संशोधन प्रस्ताव ल्याउन पनि तयार रहेको विषयमा पनि प्रधानमन्त्रीले प्रस्ताव गरेका छन् । पूरक संशोधन प्रस्तावमा मोर्चा पनि सकारात्मक छ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेताहरु प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो लगायतका शीर्ष नेताहरु सहभागी थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: