एक सयभन्दा बढी कुष्ठरोगी फेला

बर्दिया, माघ १८ । कुष्ठरोग निवारण अभियानअन्तर्गत यही माघ १० गतेदेखि हालसम्म जिल्लामा एक सय जना कुष्ठरोगी फेला परेका छन् ।

कुष्ठरोग निवारणका लागि सञ्चालित अभियानअन्तर्गत बर्दियामा सोमबारसम्म एक सय २० नयाँ कुष्ठरोगी फेला परेकामा २७ जनामा एमबी र ९० जनामा पिबी प्रकार देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तीन जनाको भने विस्तृत रुपमा जाँच गर्न बाँकी रहेको बताइएको छ । तीमध्ये नौ जना बालबालिका रहेको कार्यालय प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभयो ।

यससँगै जिल्लामा अब कुष्ठरोगको औषधि सेवन गरेकाहरुको सङ्ख्या दुई सय ४० पुगेको बताइएको छ ।

बाँके सबैभन्दा धेरै कुष्ठरोगी भएको जिल्ला मानिन्छ । धनुषा र बर्दियामा पनि धेरै कुष्ठरोगी छन् ।

सरकारले सन् २०२० सम्म ७५ वटै जिल्लाबाट कुष्ठरोग निवारण गर्ने उद्देश्यले बाँके र बर्दियामा नयाँ कुष्ठरोगी खोज्न सुरु गरेको छ ।

कुष्ठरोग निवारण अभियानअन्तर्गत घरदैलो कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

कमेन्ट गर्नुहोस्