देउवा जालमा प्रहरी, वरियता मिचिएपछि प्रहरीको गिर्यो मनोबल

काठमाडौं, माघ २८ । प्रहरीको बरिष्ठता, कार्य दक्षता, इमान्दारिता र परम्परा तोड्दै नेपाल प्रहरीको २५ औं आइजी तेस्रो बरियताका जयबहादुर चन्दलाई बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले दवाव दिएपछि नेपाल प्रहरीको मनोबलमा नकारात्मक असर पर्ने देखिएको छ ।

प्रधानमन्त्री प्रचण्ड बरिष्ठताकै आधारमा पहिलो बरियताका नवराज सिलवाललाई आइजीपी बनाउनुपर्ने र प्रहरी संगठनभित्र राजनीतिक हस्तक्षेप गर्न नहुने पक्षमा रहेपनि सत्ता साझेदार कांग्रेस र सभापति देउवाका कारण चन्दलाई स्वीकार्नुपर्ने बाध्यतामा छन् ।

सिलवाललाई आइजीपी बनाउनुपर्ने अडानमा रहेका गृहमन्त्री बिमलेन्द्र निधिको पनि देउवाको हठसामू गलेपछि चन्द नै आइजीपी हुने पक्कापक्की जस्तै भएको छ । आइजीपी उपेन्द्रकान्त अर्यालले अवकाश लिने भएपछि आइजीपी कसलाई बनाउने भन्नेमा सत्तासीन दल नेपाली कांग्रेसमा पनि विवाद छ । प्रधानमन्त्री प्रचण्ड परम्परा र बरिष्ठतालाई ख्याल गर्दै सिलवाललाई नै जिम्मेवारी दिने पक्षमा थिए । तर, गृह मन्त्रालय कांग्रेसको भागमा रहेको र देउवाले अन्तिमसम्म गरेको हठले प्रचण्ड पनि सकसमा परेका छन् ।

गृहमन्त्री निधिले गृहसचिव लोकदर्शन रेग्मीलाई २५ औं आइजी जयबहादुर चन्द बन्ने गरि क्याबिनेटमा पेश गर्ने प्रस्ताव तयार पार्न निर्देशन दिएका छन् । मन्त्री निधिले आइतबारको बैठकमा प्रस्ताव लैजाने छन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले चन्दलाई सिफारिस नगरे गृहमन्त्री नै छाड्न निधिलाई निर्देशन दिएपछि उनी पनि लचक भएका हुन् । चन्द २०४४ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । भावी महानिरीक्षकको उम्मेदवार रहेका डीआईजी नवराज सिलवाल बरियताको एक नम्बरमा छन् भने दुई नम्बरमा प्रकाश अर्याल, तीन नम्बरमा जयबहादुर चन्द र बरियताको चार नम्बरमा बमबहादुर भण्डारी रहेका छन् ।

याे पनि पढ्नुस  संविधान संसोधन गर्न एमाले लचिलो, यस्तो भयो देउवासँग सहमति !

प्रहरीमा खुला राजनीतिक हस्तक्षेप बढाउँदै सत्ता साझेदार दल नेपाली कांग्रेसको दबाबमा ‘चेन अफ कमाण्ड’ बिथोलेर चन्दलाई महानिरीक्षक नियुक्त बनाउन अन्तिम कसरत गरिरहेको छ । प्रधानमन्त्री प्रचण्ड प्रहरीको चेन अफ कमाण्ड बिगार्न नहुने अडानमा छन् । यही अडानका कारण देउवासँग विवाद चर्किएपछि प्रधानमन्त्रीले विहीबार बिहानै मुख्यसचिव सोमलाल सुवेदीलाई बालुवाटारमा बोलाएर क्याबिनेट बैठक स्थगित गर्न भनेका थिए ।

तर, सत्य निरुपण आयोगको म्याद बिहीबार नै थप्नुपर्ने बाध्यकारी अवस्थाका कारण बिहीबार अपरान्ह मन्त्रिपरिषद बैठक त बस्यो, तर त्यसले आइजीपीबारे कुनै छलफल गरेन ।
बरिष्ठता मिचेर चन्दलाई नेतृत्वमा दिन प्रचण्डलाई सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चर्को दबाब छ । ‘चन्दको नाम सिफारिसको फाइल बनाउन गृहमन्त्रीज्यूले निर्देशन दिनुभएको छ,’ निधिनिकट स्रोतले भन्यो, ‘आइतबार बस्ने मन्त्रिपरिषद बैठकमा सोही प्रकृतिको फाइल जाने निश्चित छ ।’

याे पनि पढ्नुस  महानिरिक्षक बनेको भोलिपल्ट प्रधानमन्त्री भेटे अर्यालले

कांग्रेस सभापति शेरबहादुर देउवाले चन्दलाई अघि सारेर नेपाल प्रहरीमा खुला राजनीतिक हस्तक्षेपलाई निम्तो दिएको भन्दै प्रहरी संगठनमा संशय छ । कार्यक्षमता, दक्षता, योग्यता सबै हिसाबले वरिष्ठ प्रहरी हुँदाहुँदै तेस्रो बरियताबाट नेतृत्व आउँदा संगठन सञ्चालन सिलसिलामा नयाँ चुनौती देखिन सक्नेतर्फ प्रहरी अधिकारीहरू चिन्तित छन् ।
बरियतामा चन्दभन्दा उत्कृष्ट रहेका अर्का डिआइजी प्रकाश अर्याल नेतृत्वका हकदार हुन् । साधारणतः कार्यक्षमता, वरिष्ठता, योग्यता र दक्षताका हिसाबले प्रहरी नेतृत्व नियुक्त गर्ने ऐनमा व्यवस्था छ । यी सबै हिसाबले चन्दभन्दा सिलवाल र अर्याल महानिरीक्षक पदका लागि योग्य र अब्बल देखिन्छन् ।

चन्दले ‘क्षेत्रीयता’ नाता जोड्दै ‘बिचौलिया’मार्फत देउवालाई आफ्नो पक्षमा पारेको आरोप छ । महानिरीक्षक नियुक्तिको एक महिना अघिदेखि नै चन्द सुदूरपश्चिमका कांग्रेस सभापतिहरूलाई लिएर देउवाको दैलो पुगेका थिए । प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप आमन्त्रण गर्न भूमिका खेलेपछि उनी विवादास्पद बनेका छन् । देउवाको दबाब अस्वीकार गरिरहेका प्रचण्ड भरसक करियता क्रम नमिची सिलवाललाई नै महानिरीक्षक बनाउने कोशिस गरिरहेका छन् ।

याे पनि पढ्नुस  सरकारद्वारा डिआइजी अर्याललाई महानिरिक्षकमा नियुक्त,आजै पदबहाली

एक मन्त्रीका अनुसार सरकारले कार्यक्षमता, दक्षता, बरिष्ठता र योग्यता सबै मूल्यांकन गरेर प्रहरी संगठनको नेतृत्व नियुक्त गर्ने भएकाले प्रधानमन्त्री दाहाल भरसक राजनीतिक हस्तक्षेप स्वीकार गर्ने पक्षमा छैनन् । ‘यो फलानो, उसले सिफारिस गरेको भन्दा पनि प्रहरी संगठनलाई हाँक्न सक्ने क्षमता बोकेको वरिष्ठ अधिकारीलाई नै नियुक्त गर्नुपर्छ भन्ने उहाँको चाहना छ,’ दाहालनिकट एक मन्त्रीले भने ।

स्रोतका अनुसार प्रहरी महानिरीक्षक नियुक्तिमा प्रचण्ड दलीय भागबण्डा गर्ने पक्षमा छैनन् । प्रचण्ड नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैमा बरिष्ठताका आधारमा आइजिपी नियुक्ति गर्न चाहन्छन् । तर, कांग्रेसले चन्दलाई आइजिपी नबनाए सत्ता गठबन्धन नै अप्ठ्यारो पार्ने बताएपछि प्रचण्ड समस्यामा परेका छन् ।

कमेन्ट गर्नुहोस्