काठमाडौ, माघ २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियारलाई अझैसम्म भ्रष्टाचार किन नियन्त्रण हुन नसकेको प्रश्न गरेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको २६ औँ स्थापना दिवसको अवसरमा शुक्रबार प्रधानमन्त्री प्रचण्डले सो प्रश्न गरेका हुन् । स्थापना भएको २६ औं वर्ष पार गरिसक्दा समेत भ्रष्टाचार के कति कारणले नियन्त्रणमा आउन सकेन भन्नेबारे प्रधानमन्त्री प्रचण्डले आत्ममूल्यांकन गर्न निर्देशन दिएका छन् ।
भ्रष्टाचारको विकृति रोक्न अहिलेसम्म भएका प्रयासले केही सकारात्मक नतिजा देखाएको भएपनि भ्रष्टाचारमुक्त समाज निर्माणका लागि अझै धेरै गर्न बाँकी रहेको उनले बताए ।
भ्रष्टाचार नियन्त्रण सम्बन्धी अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्र, नागरिक समाज, सञ्चार जगत लगायतका सरोकार पक्षहरूबीच थप सहकार्य र साझेदारी विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
भ्रष्टाचार नियन्त्रण सरकार वा आयोगको मात्र दायित्व नभई आचरण र जीवनशैलीसँग समेत जोडिएको विषय रहेको उनले बताए ।
आफ्ना काम कारवाहीलाई पारदर्शी र प्रभावकारी बनाउन आयोगले पर्याप्त ध्यान पुर्याउने उनले विश्वास व्यक्त गरे । अनुसन्धान गर्दा व्यक्तिको प्रतिष्ठाप्रति संवेदनशील हुने, निरपराध व्यक्ति सजायको भागी बन्नु नपर्ने र अपराधी उम्कन नपाउने गरी आयोगले आफ्नो पूर्ण क्षमताको उपयोग गर्नुपर्नेमा उनले जोड थियो ।
यस अवसरमा आयोगको स्थापना कालदेखि हालसम्म योगदान गर्ने सबैमा उनले धन्यवाद दिदै आयोग परिवारलाई बधाई दिएका थिए ।