मोहन्याल गाविसमा सडकलगायतका पूर्वाधारको अभाव

धनगढी, फागुन ४ । द्वन्द्वकालमा कैलालीको मोहन्याल गाविसलाई चुरे क्षेत्रको राजधानी बनाउने आश्वासन पाएका स्थानीय जनता सडकलगायतका आधारभूत सेवा सुविधासम्म नपाउँदा अहिले निराश भएका छन् ।

आफू सत्तामा पुगेमा मोहन्याललाई चुरे क्षेत्रको राजधानी बनाउने आश्वासन तत्कालीन माओवादीले दिएकामा सत्तामा पुगेपछि उनीहरूले सबै कुरा बिर्सेका कारण स्थानीय जनता निराश बनेको गाविसका पूर्व अध्यक्ष खड्गबहादुर बुढामगरले बताए ।

कैलाली जिल्लाको विकट पहाडी क्षेत्रको मोहन्याल गाविस अहिलेसम्म सडक सञ्जालमा जोडिएको छैन । गाविसलाई सडक सञ्जालमा जोड्ने प्रयासस्वरुप २२ वर्ष अघि तराईको चौमालाबाट सडक निर्माण थालिए पनि अहिलेसम्म उक्त सडक निर्माण पूरा हुन सकेको छैन ।

याे पनि पढ्नुस  नियम मिच्दै धनगढी उपमहानगरपालिका

चौमाला गाविसको चौमालाबाट मोहन्याल गाविसको मालिकासम्म सडक निर्माण कार्य विसं २०५१ मा सुरु गरिएकामा उक्त सडकको २१ किमी सडकको काम अझै अधूरो छ । मालिकादेखि कटुञ्जेसम्मको आठ किमी सडकको अवस्था पनि सुधार हुन सकेको छैन ।

मालिका नजिकै रहेको सिस्ने पहाडको चट्टान भत्काउन छुट्याइएको बजेट थोरै भएकोले यसवर्ष पनि मोहन्यालका बासिन्दाको सडकसँग जोडिने सपना अधूरै रहने देखिएको छ ।

याे पनि पढ्नुस  डीपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र काठमाडौं भिड्ने

सडक निर्माणको पहलस्वरुप दुई दशकदेखि जिल्ला विकास समितिको कार्यालयमा धाइरहेको भए पनि अझैसम्म सडक निर्माणका लागि उचित सुनुवाइ नगरिएको बुढामगरले बताए। स्थानीय पदम देउवाले विकासको पहिलो पूर्वाधार मानिने सडक निर्माणमा ध्यान नपुर्याउँदा यस क्षेत्रको समग्र विकासमा समस्या भएको बताएको छ ।

चुनावको समयमा दलका उम्मेदवारले मोहन्याललाई सडक सञ्जालसँग जोड्ने आश्वासन दिँदै मत माग्ने गरेकोमा चुनावपछि जित्नहरू पुनः फर्किएर नआउने गरेको गुनासो स्थानीयवासीको छ ।

याे पनि पढ्नुस  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट पुगे ‘गौरीफन्टा’ नाका

हालै मोहन्याल गाविस पुगेका कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भौगोलिक विकटताका कारण गाविसका जनताको जनजीवन अत्यन्त दयनीय र कष्टकर देखिएको बताए । जिल्ला विकास समिति कैलालीले यसवर्ष मोहन्याल सडकको निर्माणका लागि रु २५ लाख छुट्याएको बताइएको छ ।

धनगढीबाट झन्डै ६० किमीको दुरीमा रहेको यो गाविस क्षेत्रमा सडक सञ्चार लगायतका आधारभूत सुविधा अझै पुग्नसकेको छैन ।

कमेन्ट गर्नुहोस्