मातृभाषाको पढाइले बीचमै विद्यालय छाड्ने विद्यार्थी घटे

कञ्चनपुर, फागुन १४  । राना थारु मातृ भाषामा पढाइ हुन थालेपछि कञ्चनपुरको देखतभूलीमा रहेको राष्ट्रिय बहुभाषिक विद्यालयमा बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्यामा कमी आएको छ ।

घरमै बोलिने मातृ भाषामा विद्यार्थीलाई पढाउन थालिएपछि बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या शून्य प्रतिशतमा झरेको छ ।

विगतमा बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या पाँच प्रतिशतभन्दा बढी हुने गरेको थियो । विद्यालयका प्रधानाध्यापक छविलाल जोशीले भने, “विद्यालयमा पढाइने पाठ्यपुस्तकलाई शिक्षकले राना थारु भाषामा अनुवाद गरी पढाउन थालेपछि बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या शून्यमा झरेको छ ।”

याे पनि पढ्नुस  ओकेबाजेद्वारा विद्यालय पोसाक वितरण

विद्यालय नआउने विद्यार्थीको घरमै गएर शिक्षकले विद्यालय आउन प्रेरित गर्ने कार्यले समेत विद्यार्थीले बीचमै विद्यालय छाड्ने क्रम हट्दै गएको उनले बताए ।

भाषाको कठिनाइले विद्यालय आए पनि बीचमै कक्षा छाडेर भागेर जाने विद्यार्थी समेत हाल कक्षामा सहभागी भई पढ्दै आएका छन् ।

विद्यालयमा पढाउने नौ जना शिक्षकमध्ये छ जना राना समुदायकै भएकाले पनि विद्यार्थी विद्यालयमा नियमित हाजिर हुन थालेका हुन् । विद्यार्थी समयमै विद्यालय पुग्ने र पढाइप्रतिको लगाब बढ्न थालेपछि नतिजामा समेत सुधार देखिएको विद्यालयका शिक्षकको भनाइ रहेको छ ।

याे पनि पढ्नुस  शुल्कवृद्धि खारेज नगरे शैक्षिक हडताल गर्ने विद्यार्थी नेताको चेतावनी

“आधारभूत तहका बालबालिकालाई घरायसीमैत्री वातावरणमा मातृभाषामै पठनपाठनको कार्य हुँदै आएकाले निजी विद्यालयमा पठनपाठन गर्दै आएका बालबालिका समेत यस विद्यालयमा भर्ना गराएका छौँ” स्थानीय अभिभावक भीम रानाले भने ।

बचपनदेखि बालबालिकाले बोल्दै आएको भाषामै पढ्न पाएपछि चाँडै कक्षामा पढाएको कुरा सिक्ने र पढ्नका लागि अभिरुची देखाउने गरेको उनले बताए । पाँच वर्षअघि पाठ्यक्रम विकास केन्द्रले विद्यालयलाई राना थारु भाषामा छापिएका पाठ्यपुस्तक उपलब्ध गराए पनि त्यसपछिका वर्षमा पाठ्यपुस्तक उपलब्ध नहुँदा विद्यालयका शिक्षकले आफैँ पाठ्यपुस्तक अनुवाद गरी पढाउँदै आएका छन् ।

याे पनि पढ्नुस  प्रयोगात्मक कक्षामा रमाउँदै जागृति माविका विद्यार्थी

विसं २०१४ मा स्थापना भएको यस विद्यालयमा अध्ययनरत ३७६ विद्यार्थीमध्ये ९७ प्रतिशत विद्यार्थी राना समुदायका रहेका छन् ।

कमेन्ट गर्नुहोस्