भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्छः परराष्ट्रमन्त्री

काठमाडौँ, फागुन १७। परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा बाँकी रहेका भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने नेपालको अडान दोहोर्याउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी हाल जेनेभामा रहनुभएका मन्त्री डा महतले सोमबार शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटका क्रममा ती शरणार्थी आफ्नो देशमा नफर्कँदासम्म तथा कुनै तेस्रो मुलुकमा पुनःस्थापित नहुँदासम्म राष्ट्रसङ्घीय उक्त निकायलाई मानवीय सहायता उपलब्ध गराउने दायित्वबाट नहट्न आग्रह गर्नुभयो ।

याे पनि पढ्नुस  चुनावमा मधेस केन्द्रित दल सहभागी हुने विश्वास व्यक्त: परराष्ट्रमन्त्री

नेपालमा हाल बाँकी रहेका दश हजारभन्दा केही बढीको सङ्ख्यामा रहेका ती शरणार्थीलाई नेपालमै पुनःस्थापित गर्न उक्त निकायले नेपाललाई आग्रह गर्दै आएको थियो भने नेपालले ती शरणार्थीलाई स्वदेशमै फर्किनका लागि सहयोग गर्नुपर्ने अडान लिँदै आएको थियो ।

सो विषयमा उच्चायुक्त सकारात्मक हुनुभएको थियो । शरणार्थीलाई गर्दै आएको सहयोगको जिम्मेवारीबाट आयोग पछि नहट्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको थियो । नेपालमा रहेका भुटानी शरणार्थी तेस्रो मुलुकमा पुनरुस्थापित भएका छन् । हाल यहाँ दश हजारभन्दा केही बढीको सङ्ख्यामा भुटानी शरणार्थी छन् । रासस

कमेन्ट गर्नुहोस्