क्याम्पस प्रशासनकै मिलेमतोमा धाँधली भएको भन्दै तेजगंगा क्याम्पसमा तालाबन्दी

काभ्रे,फागुन २० । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा धाँधली भएको आरोप लगाउँर्दै नेविसंघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तेजगंगा बहुमुखी क्याम्पस पनौतीमा तालाबन्दी गरेका छन् । उनीहरुले क्याम्पस प्रमुख र प्रशासनको मिलेमतोमा धाँधली गरेको आरोप लगाएका छन् ।

खसेको मतभन्दा धेरै मतगणना गरेर एमालेको विद्यार्थी संगठन अनेरास्वियुको प्यानललाई विजयी गराएको भन्दै दुई विद्यार्थी संगठनले पुन मतगणनाको माग गर्दै क्याम्पस प्रमुख अम्वुभवानी कार्कीको कार्यकक्षमा शुक्रबार बिहान तालाबन्दी गरेका हुन् ।

बुधबार भएको स्ववियु चुनावमा खसेको मतभन्दा बढी मत भेटिएको थियो । खसेको मत परिणामबारे पनि निर्वाचन समितिले यकिन गर्न नसकेको विद्यार्थी संगठनले आरोप लगाएका छन् । १ सय २४ मत प्राप्त गरेका राजेश थापाको प्यानललाई निर्वाचन समितिले विजयी भएको घोषणा गरेको थियो । पराजित संयुक्त प्यानलका उम्मेदवार सुवास बस्नेतले १ सय १४ मत प्राप्त गरेका थिए ।

संयुक्त प्यानलबाट सचिव पदकी उम्मेदवार रिता लामाले मत परिणामबारे जानकारी माग्दा समेत निर्वाचन समितिले जानकारी नदिइ एकलौटी परिणाम घोषणा गरेको संयुक्त रुपमा जारी विज्ञप्तिमा जनाइएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष सुन्दर खड्काले निष्पक्ष छानबिनको माग गर्दै तालाबन्दी गरेको बताए ।

खसेको मत संख्याका बारेमा निर्वाचन समिति र विद्यार्थी संगठनकाबीच विवाद छ । पटक पटक बदर मतबारे जानकारी माग्दा बेवास्ता गरेर एकपक्षीय रुपमा नतिजा सार्वजनिक गरेको भन्दै जिल्ला प्रशासन कार्यलयमा पुनः मतगणना गर्न उनीहरुले माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्