झण्डै १४ खर्बको लगानी भित्र्याउने प्रतिबद्धता

काठमाडौँ, फागुन २० । वैदेशिक लगानी भित्र्याउने उद्देश्यले राजधानीमा आयोजित दुईदिने ‘नेपाल लगानी सम्मेलन’ सकिएको छ । नेपालका करिब रु १४ खर्बको (१३.५२ विलिएन अमेरिकी डलर) भित्र्याउने प्रतिबद्धतासहित उक्त सम्मेलन सकिएको हो ।

सम्मेलनको समापनका अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले सम्मेलनमा सहभागी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित रहेको बताए ।

सरकारले नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित गरेर आयोजना गरिएको सम्मेलनबाट रु एक खर्ब लगानीको प्रतिबद्धता आउने विश्वास लिएको थियो ।

सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरियो ।

नेपाल लगानीका लागि आकर्षक गन्तव्य हो भन्ने विश्वास दिलाएर लगानीको प्रतिबद्धता ल्याउन सफल भएको उद्योगमन्त्री जोशीले बताए ।

उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा भएको सम्मेलनमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले अघि बढाएका नीतिगत, प्रशासनिक एवम् कानुनी सुधारका प्रयासकाबारेमा सहभागीलाई जानकारी दिइएको थियोे ।

सम्मेलनमा सबैभन्दा बढी चिनियाँ लगानीकर्ता सहभागी थिए । उनीहरुले रु आठ खर्ब ३० अर्बको लगानी गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्