मेचि महाकाली अभियानमा मोर्चाको अवरोध

काठमाडौं, फागुन २१ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले मेची–महाकाली अभियान तयारीमा रहेको प्रमुख प्रतिपक्षी एमालेलाई अवरोध गर्न थालेका छन् । उनीहरू शुक्रबार एमाले नेता–कार्यकर्तामाथि ढुंगामुढासँगै दुव्र्यवहारमा उत्रिए ।

मोर्चा कार्यकर्ताले राजविराजमा संसद्को महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समिति सभापतिसमेत रहेकी एमाले नेत्री रञ्जु झाको गाडीमा ढुंगामुढा गरे । राजधानीबाट राजविराज आई मदननगरस्थित एमाले जिल्ला कार्यालयतर्फ गइरहेका बेला पानीट्यांकीछेउ आफ्नो गाडीमाथि ढुंगामुढा भएको उनले बताइन् । १५–२० वटा मोटरसाइकलमा कालो झन्डासहित आएका मोर्चाका कार्यकर्ताले ढुंगा हानेका थिए । प्रहरीले तत्काल सभापति झालाई सुरक्षित स्थल लगेको थियो ।

 

यसैबीच मोर्चा कार्यकर्ताले साँझ राजविराजको तेतरीगाछी चोकमा एमालेको झन्डा जलाएका छन् । अभियानको प्रचारात्मक कार्यक्रममा जुटेका एमाले सप्तरीका सहसचिव एवं पूर्वजिविस सदस्य प्रतापनारायण चौधरीलाई उनीहरूले शुक्रबार बिहान मोसोसमेत दलेका थिए ।

एमाले जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले मोर्चा कार्यकर्ताले आफ्ना जिल्ला सदस्यलाई दुव्र्यवहार गरेको बताए । उनले भने, ‘लोकतन्त्रमा प्रजातान्त्रिक तरिकाबाट सबै दल र समुदायले आआफ्ना विचार लिएर जनतामा जान पाउनुपर्छ, हामी मेची–महाकाली अभियानमा छौं तर हामीलाई कार्यक्रमै गर्न नदिने मोर्चाको रबैया अराजकताको पराकाष्ठा हो ।’

याे पनि पढ्नुस  मेची–महाकाली अभियानमा मोर्चाको अबरोध, यातायात ठप्प

मोर्चाका सप्तरी संयोजक दिनेशकुमार यादवले भने घटनामा आफूहरूको संलग्नता नरहेको दाबी गरे । ‘कालोमोसो दल्ने हाम्रो निर्णय होइन तर मधेसी जनताले प्रतिकार गरेको हुन सक्छ, हाम्रा युवा विद्यार्थी पनि सामेल भएका हुन सक्छन् ।’ यी घटनापछि सुरक्षा निकायले सतर्कता बढाएको छ । शुक्रबार दिउँसो नेपाल प्रहरीका पूर्वाञ्चल प्रमुख डीआईजी रमेश भट्टराई र सशस्त्र प्रहरीका डीआईजी जानकी भट्टराई सिरहा आएका छन् ।

मोर्चा कार्यकर्ताले शुक्रबारै एमालेका सप्तरी जिल्ला सचिव शम्भु यादबलाई आक्रमण गरी उनका साथबाट १४ हजार रुपैया लुटेको आरोप पनि छ । सप्तरी एमालेका अध्यक्ष गोविन्द न्यौपानेद्वारा जारी विज्ञप्तिमा पार्टी कार्यालयतर्फ जादै गर्दा सचिव यादवलाई मोर्चा कार्यकर्ताले पछाडिबाट आक्रमण गरी झोला रहेको पार्टी दस्तावेज र चौध हजार तीन सय नगद लुटेको उल्लेख छ । शम्भुको नर्घो–८ स्थित घरमा गई मोर्चा कार्यकर्ताले पत्नी इन्दुलाई घर आगो लगाइदिने धम्की पनि दिएको विज्ञप्तिमा आरोप लगाइएको छ । मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवले रकम लुटपाटमा आफना कार्यकर्ताको संलग्नता अस्वीकार गरेका छन् । ‘एमालेले झुठो अफवाह फैलाएको छ, रकम लुट्ने, घरमा गएर धम्क्याउने हाम्रो कुनै योजना छैन,’ उनले भने ।

याे पनि पढ्नुस  मधेशबाट सुरक्षित बाटो खोज्दे फर्किए एमाले नेताहरु, जनजीवन प्रभावित, तोडफोड र पुत्ला दहन

अभियान आजदेखि

काँकडभिट्टा (कास)– सुखानी सहिद स्मृति दिवसको अवसर पारेर एमालेले राष्ट्रिय एकताको सन्देशसहित शनिबारदेखि ‘मेची–महाकाली राष्ट्रिय अभियान’ सुरु गर्दै छ ।

मुलुकको पूर्वीद्वार काँकडभिट्टाबाट बिहान ११ बजे अभियान सुरु हुने जनाइएको छ । अभियानमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वगृहमन्त्री वामदेव गौतम, भीम रावल, योगेश भट्टराईलगायत नेता शुक्रबार झापा आएका छन् ।

याे पनि पढ्नुस  सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव आए मात्र निर्वाचनमा जान्छौंः मधेसी मोर्चा

अभियानको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका बीचमा जाति–जनजाति, मधेस–पहाड भन्दै अनेक प्रकारका भ्रम पिँmजाएर जनतामा घृणाभाव, वैरभाव फैलाउने दुष्प्रयत्न भएको भन्दै नेपालीबीच सद्भाव जगाउन अभियान थालनी गरिएको बताए । ‘राष्ट्रका लागि सद्भाव र सहयोगी भावना हुनुपर्छ,’ ओलीले भने, ‘सबै मिलेर देश बनाउनुपर्छ । सबैले हकअधिकार पाउनुपर्छ ।’

१५ दिने अभियानमा तराईका २२ जिल्लालाई समेट्ने गरी ३५ स्थानमा आमसभा आयोजना गरिने एमालेले जनाएको छ । यसैबीच एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले कुनै शक्तिले पनि निर्वाचन रोक्न नसक्ने दाबी गरे ।

आजको कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्