परराष्ट्रमन्त्री डा. महत नेपाल फर्किए

काठमाडौँ, फागुन २१। स्विट्जरल्यान्डको जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४औँ सत्रमा सहभागी पश्चात परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आज नेपाल फर्किएका छन् ।

सो सत्रमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री मन्त्री डा. महत यही फागुन १४ गते जेनेभा प्रस्थान गरेका थिए ।

मन्त्री महतले जेनेभामा उक्त सत्रलाई सम्बोधन गर्नुका साथै त्यहाँ पाँच दिनसम्म रहँदा विभिन्न देशका विदेशमन्त्री, मन्त्रीका साथै संयुक्त राष्ट्रसङ्घीय उच्च अधिकारीहरुसँग भेटवार्ता गरेको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई बताएका छन् ।

नेपालले आगामी सन् २०१८ देखि २०२० सम्मका लागि राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा उम्मेदवारी दिएको छ । त्यहाँ रहँदा उनले मानवअधिकारको संरक्षण र सम्मानमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराउँदै सो पदमा मतदानका लागि विश्व समुदायसँग आग्रह गरेको उनले जानकारी दिए ।

नेता महतले स्विस विदेशमन्त्री डिडियर बुर्खाल्टरसँगको भेटवार्ताका क्रममा नेपाललाई पुनःनिर्माणका साथै अन्य क्षेत्रमा आर्थिक सहयोगका लागि आग्रह गरे । त्यसैगरी हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्तोले नेपाललाई जलविद्युत् उत्पादनका क्षेत्रमा रु एघार अर्बभन्दा बढी सहयोग गर्ने र प्रत्येक वर्ष १० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने बताए ।

कमेन्ट गर्नुहोस्