सुनसरीमा सभा सकाएर एमाले नेता सप्तरी लागे, तर प्रवेश गर्न नदिने मोर्चाको अडान

इनरूवा, फागुन २३ । सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अवरोधबीच नेकपा एमालेले सुनसरीको इनरुवामा आमसभा सकाएर सप्तरी लागेका छन् ।

सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले भने एमालेकाे सप्तरी अायोजना हुने अामसभा विथोल्ने चेतावनी दिएका छन् । कालो झण्डासहित इनरुवामा उपस्थित भएका मोर्चाका कार्यकर्ताहरुले केपी ओलीविरुद्ध नाराबाजी गरेका थिए ।

सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरीका अनुसार सप्तरीको कार्यक्रम स्थलसम्म एमाले कार्यकर्ता जान सकेका छैनन् । कार्यक्रम स्थलमा सुरक्षा निकायबाहेक अरू कोही नजान नसकेको मोर्चाले जनाएको छ । हामीले एमालेलाई सप्तरी प्रवेश गर्नै दिएका छैनौं, मोर्चाका एक नेताले भने ।

मेची–महाकाली अभियानमा रहेको एमालेले अभियानको तेस्रो दिन तराईका विभिन्न स्थानमा सभाको आयोजना गरेको थियो । इनरुवामा भएको कार्यक्रममा लालबाबु पण्डित र भगवती चौधरीले सम्बोधन गरे। पण्डितले भने–‘संविधान च्यात्ने र जलाउनेलाई हामी छोड्दैनौ। यहाँ आतंक चल्दैन। यो बुद्धको देश हो।आतंक चाहनेहरू चम्वल जाउ।’
संविधानले सबैलाई समेटेको भन्दै एमाले नेता चौधरीले संविधानमा सबैका हक कार्यान्वयन भएको दाबी गरिन् । ‘म पनि मधेसकै छोरी–बुहारी हुँ, संविधानले सबैलाई समेटेको छ अब संविधान कार्यान्वयनको व्यवस्था गर्नुपर्छ,’ उनले भनिन् ।

एमालेका कुनै नेता सप्तरी प्रवेश गर्नै नदिने मोर्चाको अडान कायम छ । अहिले सप्तरी जिल्लाभर दुईहजार प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उ४व तिमल्सिनाले जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्