‘पृथ्वी जयन्ती’ नपरेपछि वर्षभरिकै सार्वजनिक छुट्टीसम्बन्धी प्रस्ताव अस्वीकृत

काठमाडौं, चैत १ । गृह मन्त्रालयले ल्याएको सार्वजनिक छुट्टीसम्बन्धी प्रस्तावमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती छुटेपछि केही मन्त्रीहरुले विरोध गर्दा उक्त प्रस्ताव मन्त्रिपरिषदमा अस्वीकृत भएको छ ।

गृह मन्त्रालयको प्रस्ताव परिमार्जन गरी पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने गरी प्रस्ताव नल्याएसम्म पारित गर्न नसकिने अडान केही मन्त्रीले लिएपछि उक्त प्रस्ताव मन्त्रिपरिषदबाट अस्वीकृत भएको हो । एक मन्त्रीका अनुसार आपूर्ति मन्त्री दीपक बोहोराले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने प्रस्ताव ल्याउनुपर्ने माग गरेपछि प्रस्ताव पारित नभएको हो ।

‘उहाँले पृथ्वीजयन्तीको विषय उठाउनुभयो, अरु केही बिषय पनि मिलाउनुपर्ने देखिएकोले त्यो प्रस्ताव पारित नभएको हो,’ ती मन्त्रीले भने ।

गृहमन्त्री विमलेन्द्र निधिले फागुन १७ गते स्वीकृत गरी गत फागुन २२ गते आइतवारको मन्त्रिपरिषद् बैठकमा छलफलका लागि प्रस्ताव गरिएको थियो । गत पुसमा पनि मन्त्रिपरिषद् बैठकमा सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले पृथ्वी जयन्तीमा बिदा दिनुपर्ने माग राखेका थिए तर उनको मागको सुनुवाइ भएको थिएन ।

कमेन्ट गर्नुहोस्