विश्व बैंकले भूकम्प पुनर्निर्माणमा थप सहयोग दिने

काठमाडौं, चैत १ । विश्व बैंकले नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । राष्ट्रिय पुर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रा. डा. गोविन्दराज पोखरेलसँग नेपाल भ्रमणमा रहेका विश्व बैंकका कार्यकारी निर्देशक एन्डिन ह्याडियान्तोले सोमबार भेटवार्ता गर्दै थप सहयोगको प्रतिबद्धता जनाएका हुन् ।

भेटमा कार्यकारी निर्देशक ह्याडियान्तोले असल विकास साझेदार संस्थाका रूपमा विश्व बैंक नेपालको विकासमा निकट सहयोगीका रूपमा काम गर्दै आएको भन्दै भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको सहयोगलाई थप प्रभावकारी बनाउने बताए । पुनर्निर्माणमा देखिएका चुनौतीबारे जिज्ञासा राख्दै उनले विश्व बैंकको सहयोगमा सञ्चालित विभिन्न परियोजनालाई सफल बनाउन सरकारी संयन्त्रबीच थप समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।

सो क्रममा प्राधिकरणका सिइअो डा. पोखरेलले पुनर्निर्माणमा देखिएका चुनौतीलाई सामना गर्न विकास साझेदार संस्थाको पनि महत्वपूर्ण भूमिका हुने बताए ।

प्राधिकरणका सिइओ पोखरेलले सरकारी संयन्त्रमा हुने गरेका विभिन्न प्रक्रियागत कठिनाइले पुनर्निर्माणको काममा पनि ढिलाइ भएकोप्रति समेत उनले चासो राखेको बताए । कार्यकारी निर्देशक ह्याडियान्तोले पुनर्निर्माण कोष कार्यान्वयनमा भइरहेको ढिलाइप्रति समेत चासो राखेका थिए ।

कमेन्ट गर्नुहोस्