स्थानीय तह कार्यान्वयनमा आएसँग सर्वसाधारणमा उत्साह

काठमाडौं, चैत २ । स्थानीय तह कार्यान्वयनमा आएसँगै सर्वसाधारणमा उत्साह छ । तह कार्यान्वयनसँगै स्थानीय तहको निर्वाचन तोकिएको मितिमै हुनेमा आशावादी देखिए ।

जिल्ला समन्वय समितिले २ नगर र १० गाउँपालिकाका लागि सोमबार कार्यकारी अधिकृत नियुक्ति गरेसँगै मंगलबारदेखि सबै कार्यालय सञ्चालनमा आएका छन् । सबै गाउँ र नगरपालिकाको बोर्ड फेरिएको छ । सबै नगर र गाउँपालिकामा कर्मचारी पुगेका छन् ।

‘आज कार्यालय उद्घाटन गरियो,’ सबैभन्दा दुर्गम मानिएको कालीगण्डकी गाउँपालिका प्रमुख शिवहरि मरासिनीले भने, ‘अब कार्यालयको थप व्यवस्थापनका काम क्रमशः गर्छौं ।’

भुर्तुङ, खड्गकोट, फोक्सिङ, पूर्तिघाट, जयखानी, अर्बेनी र हर्मिचौरका सर्वसाधारणले सेवा लिने गाउँपालिकाको केन्द्र रहने पूर्तिघाट पूर्वाधारमा भने कमजोर छ । २ नगर र १० गाउँपालिकामध्ये मुसिकोट नगरपालिका सबैभन्दा ठूलो बनेको छ । ९ वडा रहेको मुसिकोटमा ३२ हजार ८ सय २ जनसंख्या छ ।

त्यस्तै रेसुंगा नगरपालिकाको वार्ड नं.१३ सबै भन्दा कम ९ सय १६ जनाको वडा बनेको छ । रेसुङगाकै वडा नं.५ मा पनि १ हजार ६ सय ६० मात्र जनसंख्या छ ।

जिल्लामा केन्द्र माग गर्दै झन्डै एक साता आन्दोलन गरेका तुराङ, आँपचौर र रूपाकोटका सर्वसाधारणलाई आयोगले तुराङ र रूपाकोटलाई चन्द्रकोट गाउँपालिका र आँपचौरलाई मुसिकोट नगरपालिकामा गाभेको छ ।

भौगोलिक बनावट मिलेको भए पनि पूर्वाधार र विकासमा अगाडि रहेको तुराङको मजुवामा केन्द्र हुनुपर्ने स्थानीयको माग थियो ।

जिल्ला समन्वय समिति प्रमुख तथा स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठले जिल्लाका सबै नगर र गाउँपालिकामा मंगलबारदेखि नै कार्यालय स्थापना भइसकेको बताइन् ।

कमेन्ट गर्नुहोस्