परीक्षाको लागि केन्द्राध्यक्ष तोक्न जिल्ला शिक्षा कार्यालयलाई सकस

भोलिदेखि माध्यमिक शिक्षा परीक्षा सुरु, मोरङमा ६७ परीक्षा केन्द्र

विराटनगर, चैत्र २ । राजनीतिक भागबण्डा नमिलेपछि भोलि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षाका लागि बुधबार मध्यान्हसम्म मोरङमा केन्द्राध्यक्ष तोक्न सकेको छैन । यसकारण परीक्षाको आवश्यक तयारी प्रभावित हुँदै गएको छ । मोरङमा हरेक वर्ष राजनीतिक भागबण्डाकै आधारमा परीक्षा केन्द्राध्यक्ष नियुक्त गर्ने परम्परा छ ।

मोरङमा ६७ परीक्षा केन्द्र तोकिएको छ । त्यसका लागि नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसवादी दल निकट शिक्षक संघ संगठन र निजी विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनले भागबण्डामा केन्द्राध्यक्ष माग गरेपछि जिल्ला शिक्षा कार्यालयले परीक्षाको अघिल्लो दिनसम्म केन्द्राध्यक्ष तोक्न नसकेको हो ।

जिल्ला शिक्षा कार्यालय स्रोतका अनुसार एमाले निकट शिक्षक संगठनले २४, कांग्रेस निकटले १९, माओवादी केन्द्र निकटले १४, मधेसी दल निकटले १० र प्याब्सन, एनप्याब्सनले ७ वटा केन्द्राध्यक्ष आफ्नो भागमा पर्नुपर्ने माग गरेपछि समस्या चुलिएको हो । स्रोतका अनुसार ६७ परीक्षा केन्द्रका लागि शिक्षक संघ संगठनले ७४ केन्द्राध्यक्ष माग गरेपछि समयमा नियुक्त गर्न नसकिएको हो ।

केन्द्राध्यक्ष तोक्नका लागि अहिले बैठक भइरहेको जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले बताए । ‘म अहिले केही बोल्दिनँ’ उनले भने, ‘केहीबेरमै केन्द्राध्यक्षको टुङ्गो लगाएर सम्बन्धित केन्द्रमा आजै पठाउने तयारी भइरहेको छ ।’

प्रत्यके केन्द्राध्यक्षले परीक्षा अवधीभरिमा करिब ९ हजार भत्ता पाउने व्यवस्था छ । आफूले भनेअनुसारको केन्द्राध्यक्ष भए उक्त परीक्षा केन्द्रमा आफू अनुकूल परीक्षा सञ्चालन गर्न सकिने भएका कारण केन्द्राध्यक्षमा भागबण्डाको लडाइँ हुने गरेको सम्बद्ध स्रोतको भनाइ छ ।

मोरङमा यसपाली कूल २० हजार ७ सय ६ जना परीक्षार्थी सहभागी हुँदैछन् । त्यसमध्ये नियमिततर्फ १७ हजार ९ सय ८३, ग्रेड वृद्धितर्फ १ हजार ९ सय ५७ र एक्जामटेडतर्फ ७ सय ६६ परीक्षार्थी सहभागी हुँदैछन् ।

कमेन्ट गर्नुहोस्