साहसी बालिकालार्इ सलाम

खोटाङ, चैत ५ । दुवै हात नभएकी खोटेहाङ गाउँपालिका–२ की सम्झना राई खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी छिन् । भगवती दिनानाथ मावि खोटाङ बजारमा कक्षा–१० सम्म अध्ययन गरेकी सम्झनाले सिम्पानी मावि केन्द्रबाट परीक्षा दिइरहेकी छिन् ।

शारीरिक रुपमा अशक्त सम्झनाले खुट्टाले लेखेरै भएपनि समयमै सबै प्रश्नको उत्तर लेख्ने गरेको केन्द्राध्यक्ष राजन ढकालले बताउनुभयो ।

१७ वर्षीया सम्झना इन्द्रेणी पोखरीस्थित मावली बसेर भगवती दिनानाथ माविमा अध्ययन गरेकी हुन् । भगवती दिनानाथ माविका प्रधानाध्यापक कुमार पराजुलीका अनुसार उनी विद्यालयको जेहेन्दार र अनुशासित विद्यार्थीमा पर्छिन् ।

परीक्षा केन्द्र नजिकै सिम्पानी बजारमा कोठा भाडा लिएर परीक्षा दिइरहेकी सम्झनालाई सघाउन उनकी आमा सुमित्राले साथ दिइरहनुभएको छ । “आर्थिक अवस्था कमजोर भएकाले मावली बसाएर पढाइयौं ” आमा सावित्राले भन्नुभयो ।

सम्झनालाई अहिलेसम्म अध्ययनमा लागेको सबै खर्च विद्यालयको तर्फबाट व्यहोरिएको प्रअ पराजुलीले जानकारी दिनुभयो । जन्मजात दुबै हात नभएकी सम्झनालाई अध्ययन तथा सहज जीवनयापनका लागि यसअघि खोटाङ सेवा समाज बेलायतबाट रु चार लाख ६९ हजार ७६० आर्थिक सहयोग प्राप्त भएको थियो ।

समाजले उपलब्ध गराएको रकम उच्च शिक्षा अध्ययनमा खर्च गरिने आमा सुमित्राले बताउनुभयो ।

गरिब परिवारमा जन्मिएकी सम्झनाले आफू अशक्त भए पनि पढेर समाजको सेवा गर्नमा आफ्नो जीवन बेतित गर्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्