विश्व चर्चित क्रिकेट खेलाडीहरु नेपाल आउने

काठमाडौं, चैत ९ । विश्वचर्चित क्रिकेट खेलाडीहरु नेपालमा खेल्नका लागि आउने भएका छन् ।
नेपाली टोली र श्रीलंकाको टोलीबिच हुने ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृखलामा सहभागी हुन ती विश्व चर्चित खेलाडीहरु नेपाल आउन लागेका हुन् ।

प्रतियोगिताबारे जानकारी दिन आज राजधानीमा भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान पारस खड्काले विश्वचर्चित खेलाडीसँग नेपाली मैदानमै खेल्न आउने जानकारी गराएका हुन् । उनले ती खेलाडीहरु नेपाल आउने भएकाले उनीहरुबाट धेरै कुरा सिक्ने मौका मिल्ने र नेपालले पनि ठूला प्रतियोगिता गर्न सक्ने रहेछ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा जाने बताए ।

नेपाल र श्रीलंकाबिच दौत्यसम्बन्धको ६० औं बर्षगाठको अवसरमा हुन लागेको प्रतियोगामा श्रीलंकाका विश्वचर्चित खेलाडी समावेश लंकन लायन र नेपाली राइनोजबिच खेल हुन लागेको हो ।

आगामी बैशाख १४, १६ र १८ गते त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा श्रीलंकाको राष्ट्रिय टोलीका खेलाडीहरु उपुल थारङगा, रंगना हेराथ, डिल्सान मुनावेरा, सचित्रा सेनानायक र चामरा शिल्भादाराले लंकन लायनबाट खेल्नेछन् । यस्तै श्रीलंकाका पूर्व खेलाडी सनथ जयसुर्या, चामिन्दा भास, रोमेस कालुविथर्ना, उपुल चन्दनालगायतका खेलाडीले पनि गोरखाज राइनोजसँग खेल्नेछन् ।

श्रीलंकाको कप्तानी अरविन्द डि सिल्भाले र नेपाली राइनोजको कप्तानी पारस खड्काले गर्नेछन् ।

कमेन्ट गर्नुहोस्