मधेसी ‘मूर्गा’ हुन् ?

संघीय संरचनाकै आधारमा ७ सय ४४ स्थानीय तह बनाउन उनै मधेसी जनताको हात छ

शब्दगत् रुपमा हिन्दी भाषाको ‘मूर्गा’ शब्दले नेपाली भाषामा कुखुरा भन्ने अर्थ लगाउँछ । अहिले युवा तन्नेरीको भाषामा भन्ने हो भने कसैलाई फकाएर चरी बनाउनु, फँसाउनु र आफूले चाहेको उद्देश्य पूरा गर्नु ‘मूर्गा’ हो । हिजो आज तन्नेरी पुस्ताले बनाउने मूर्गाको खोजिमा उच्च ओहोदाका व्यक्तिदेखि सामान्य मानिस पनि भौतारिन्छन् र साँझ कोही न कोहीलाई प्रभावमा पारेर लक्ष्य हासिल गर्छन । यो बहसको विषय त्यही शब्दबाट सुरु गरेँ । अहिले मधेस/तराईका नेता/जनतालाई यस्तै बनाउन खोजिएको छ ? यो शब्द प्रयोग गर्दा तपाईँहरुकोमन दुखेको भएमा मलाई माफ गर्नुहोला । केही दलले मधेसीलाई त्यही शब्द प्रयोग गरिरहेका छन् व्यबहारिक रुपमै ।

हुन त तराई शब्द मलाई अत्यन्त राम्रो लाग्छ किनकी म तराई मूलकै हुँ । तर, अहिले तराई भन्दा मधेस शब्द बढी प्रचारमा ल्याइएको छ थाहा छैन यसको आवश्यकता थियो कि थिएन ? अग्लो होचो र डाँडाकाँडा नभएको, एकदम समथर भूमिलाई तराई भन्नुपर्छ भन्ने कुरा सानैदेखि मेरो दिमागमा भरिएकोले हुनसक्छ, मलाई मधेस भन्दा तराई शब्द प्रिय लाग्छ । मधेसमा बस्ने सबै मधेसीले कसैले अधिकार पाउने र कसैले अधिकार नपाउने कुराको म सधैँ बिरोधी हुँ । कसैले यही शब्दलाई सामन्ती सोच भन्न पनि सक्छ ।

तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अगुवाइमा ०६३ मा मधेसले ८ बुँदामा महत्वपूर्ण तीन अवसर पायो । स्वायतता, संघीयता र समावेशीता । कीर्तिपूरको नयाँबजारदेखि पाँगा चोक हुँदै सम्पूर्ण तराई विजयोत्सवमा झुम्यो । मलाई स्पष्ट थाहा छ साथी दिपेन्द्र तिवारीले मलाई उचाल्दै ‘जय मधेस’ भने, र उनलाई मैलेपनि खुलेर साथ दिएको थिएँ । मधेसी जनताले पाएको नयाँ अधिकारले हामी सबैलाई खुशी तुल्याएको थियो ।

सम्झेँ अब मधेसले पाउँदै आएको असमानता र विभेद कम हुन्छ, विकासका मूलहरू फुट्नेछन् । तिवारी जी को अनुहारको चमकले त्यहि कुराको आशा गरेको थियो । चोक र सडकहरु अबिरमय भई रंगीएका थिए ।

आज झण्डै एक दशकपछि सम्झे उनै मधेसी जनताहरुको मागका लागि भन्दै मधेसी जनता आन्दोलनमै छन् । त्यसो भए के ०६३ सालमा भएका आठ बुँदे सम्झौता कार्यान्वयन भएको छैन ? कि सम्झौताका नाममा मधेसी जनतालाई मूर्गा बनाइएको मात्रै थियो ? होइन भने मधेसी जनताले मागेको समावेशिता, केन्द्रीकृत राज्यसत्ताको अन्त्य र स्वायत्तता सहितको संविधान जारी भएपछि पनि उनै मधेसीको अधिकारका लागि भनेर आन्दोलन गर्नुको कारण…?

हो २०७२ साल असोज ३ गते जारी भएको संविधानले सबै अधिकार दिन सकेको छैन होला । तर संविधानप्रति नै स्वयं मधेसीहरूपनि विरोधी भएर निस्कनु, विदेशी प्रभूको इशारा अँगाल्नु, हिंसामा उत्रिनु, छुट्टै राष्ट्रको माग गर्नु, गठबन्धन दरिलो नहुनु र सत्ताको खेलमा लाग्नु जस्ता गल्तीले मधेससँग गरिएको सम्झौता अहिलेसम्म प्राप्त हुन सकेको छैन । र दिनेले पनि दिन हिच्कीचाइरहेको स्पष्टै छ ।

समयले सहयोग नगरेको पनि होइन मधेसीलाई । संघीय संरचनाकै आधारमा ७ सय ४४ स्थानीय तह बनाउन उनै मधेसी जनताको हात छ । यसैलाई टेकेर देशमा स्थानीय चुनावको माहोल बनिसकेको छ । तर मधेसी मोर्चाले चुनाव भन्दा अघि सीमांकन र नमिलेका मुद्दा मिलाउनुपर्ने कुरामा जोड दिएका छन् । सरकारले चुनावको मिति घोषणा गरिसकेको छ । यही चुनावको विषयलाई लिएर सरकार, मधेसी मोर्चाबीच जुहारी चलेको छ– एकाथरी जसरी पनि चुनाव गर्ने अर्कोथरी माग पूरा नभई चुनाव गर्न नदिने । मधेसले पाएको सम्झौता पूरा नभई उसले चुनाव चाहेको छैन, फेरी मधेसी जनतालाई अधिकार दिने विषयमा दलहरु सहमत नहुँदा चुनावको टुँगो देखिँदैन ।

विगतमा मधेसीसँग भएका सम्झौता कार्यान्वयन गर्न ढिलाइ गर्नुहुन्थ्यो कि हुन्नथ्यो ? त्यो सम्बन्धित निकायले बुझ्नुपर्ने हो । तर, मधेसी जनताका नाममा मधेसी नेताहरुबाट भएका गम्भीर गल्तीहरुको समीक्षा गर्नैपर्छ । मधेसी जनताका नाममा उनीहरुले जसरी सत्ताको भर्याङ बनाए यसले विगतका सम्झौता कार्यान्वयनमा बाधा पुगेको कुरा विर्सन मिल्दैन ।
तिनै नेताका कारण ०६३ पछि पटक–पटक ललीपपको सहारामा मधेसका गम्भीर मुद्दासँग केही नेताहरूको कुर्सीमोह साटासाट गरिएको छ, जुन मधेसी जनताको वास्तविक मुद्दा थिएन । स्थानीय तहको चुनावमा जान रोकेर मधेसी नेता फेरि अर्काे उधारो सम्झौता गराउन चाहन्छन ? विगतमा मधेसीको माग सम्बोधनमा केही ढिलाई भएको हो भने त्यसलाई पालना गराउन लागिपर्ने कि आफ्नो लक्ष्य प्राप्तिका लागि आन्दोलन गर्ने ?

म आफैँ तराईको बासिन्दा भएकोले मैले त्यहाँ विभेद देखेको छु । राज्यको मूल प्रवाहमा मधेसी जनतालाई ल्याउनुपर्छ भन्ने मेरो पनि माग हो तर, त्यसका लागि मधेसी नेताहरुले पनि आफूलाई सच्याएर अगाडि बढ्नुपर्ने हो कि

सरकारले मधेसीलाई विदेशी मात्रै देख्ने पूर्वाग्रही सोच फाल्न जरुरी छ । नेपालको समथर भूमिमा बस्ने सबै नेपाली हुन् उनीहरुलाई अधिकार सम्पन्न बनाउन लागि परौं ।

कमेन्ट गर्नुहोस्