कम सुत्नेलार्इ बढी रूघा खोकी

चैत १० । अपर्याप्त निद्राका कारण मानिसमा रुघाखोकीको जोखिम बढ्ने एक अनुसन्धानले देखाएको छ ।

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका मुख्य शोधकर्ताहरुका अनुसार दैनिक ६ घण्टाभन्दा कम मात्र सुत्ने मानिसलाई रुघाखोकीले बढी सताउने बताउँछन् ।

डाक्टर एरिक प्राथरका अनुसार रुघाखोकीले सताउने कारक तत्वहरुमा अन्य मध्ये कम निद्रा वा अनिद्रा सबैभन्दा महत्वपूर्ण तत्वको रुपमा रहेको हुन्छ ।

मानिसहरुको उमेर, वर्ग, तनावको अवस्था, शिक्षा तथा आय वा अन्य जिवनशैली जे सुकै रहेपनि रुघाखोकीका लागि निद्रा सबैभन्दा महत्वपूर्ण विषयको रुपमा रहेको उनले बताएका छन् ।

शोधका क्रममा १६४ जना स्वस्थ मानिसहरुलाई एक हप्तासम्म उनीहरुको नाडीमा सेन्सर बाँधेर उनीहरुको सामान्य निद्राको आनीबानी रेकर्ड गरिएको थियो ।

त्यसपछि उनीहरुको नाकबाट रुघा लगाउने राइनो भाइरसको झोल हालियो । अनि उनीहरुलाई ५ दिनसम्म होटलमा छुट्टै राखेर अवलोकन गरियो की कति जनालाई रुघाखोकीको लक्षण देखापर्छ ।
त्यसक्रममा कम समय मात्र सुत्ने गरेका मानिसहरुमा रुघाखोकीको लक्षण तत्कालै देखा पर्यो भने पर्याप्त निद्रा सुत्ने मानिसहरुमा रुघाखोकी देखा परेन ।

अपर्याप्त निद्राले मानिसको रोग प्रतिरोधी क्षमता पनि घटाउँछ भन्ने यसअघिको सिद्धान्त समेत यो प्रयोगले सिद्ध गरेको दाबी शोधकर्ताको छ ।

रातमा ७ घण्टाभन्दा बढि समयसम्म सुत्ने मानिसहरुमा चिसो तथा रुघाखोकीले सताउने जोखिम थोरै सुत्ने मानिसमा भन्दा कम रहने अध्ययनको निष्कर्ष छ । विज्ञहरुका अनुसार स्वस्थ मानिसका लागि रातमा ८ घण्टाको गहन निद्रा आवश्यक हुन्छ ।

कमेन्ट गर्नुहोस्