मधेस केन्द्रित दलहरुपनि निर्वाचन नजिकै छन् : उपप्रधानमन्त्री महरा

रोल्पा, ११ चैत । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनका लागि मधेसकेन्द्रित दलहरु पनि सहमति नजिक भएको बताएका छन् ।

रोल्पाको सदरमुकाम लिबाङमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री महराले वैशाख ३१ गतेका लागि निर्धारण गरिएको स्थानीय तहको निर्वाचन समयमै हुने भन्दै त्यसका लागि मधेस केन्द्रित दल पनि सहमति नजिक आइसकेको बताएका छन् ।

उनले भने “सीमाङ्कन बाहेकका विषयमा संविधान संशोधन गर्ने विषयमा मोर्चा सकारात्मक देखिएका छन् भने सीमाङ्कनको विषय थाति राखेर अगाडि बढ्ने कुरामा नेकपा एमाले पनि सहमत भएका छन् ।’

“राजनीतिक गाँठो पनि क्रमशः फुकिँदै छ, जनताको ठूलो हिस्सा निर्वाचनलाई महोत्सवको रुपमा स्वागत गर्न आतुर छन्, यस्तो अवस्थामा निर्वाचन रोकिने कुनै बहाना छैन’ महराले भने । मोर्चासँग निकट भविष्यमा हुने सहमतिपछि मुलुकमा निर्वाचनको माहोल बन्ने उनको भनाई छ ।

उपप्रधानमन्त्री महराले स्थानीय तहको संरचना कार्यान्वयनलाई इतिहासकै ठूलो उपलब्धि भएको बताउँदै स्थानीय तहको केन्द्रका बारे सानातिना विवाद आए पनि आपसी सहमतिमा त्यसलाई समाधान गरिने धारणा व्यक्त गरे ।

सिंहदरबारमा भएको अधिकार गाउँ/गाउँसम्म पुग्ने गरी राज्य पुनःसंरचना हुनु नेपालको इतिहासमा चानचुने विषय नभएको बताए ।

उपप्रधानमन्त्री महराले “तयारी अभावका कारण प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा कुनै विषयमा लिखित सम्झौता नभए पनि सबै विषयमा द्विपक्षीय कुराकानी हुने बताउँदै विशेषगरी वन वेल्ट वन रोड, केरुङ काठमाडौँ रेलमार्ग विस्तार, विशेष आर्थिक क्षेत्र, तेल भण्डारण तथा ऊर्जासँग सम्बन्धित विषयमा नेतृत्व तहमा द्विपक्षीय कुराकानी हुने र त्यसै आधारमा निकट भविष्यमा सो सम्बन्धी सम्झौता हुने बताए ।

कमेन्ट गर्नुहोस्