भारतीय सेनाध्यक्ष रावत नेपाल आउँदै

काठमाडौँ, चैत १२। भारतीय सेनाध्यक्ष विपीन रावत नेपाल भ्रमणमा आउने भएका छन् । यही चैत १५ गते मङ्गलबार नेपालको चारदिने भ्रमणका लागि आउने भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आगामी बुधबार राष्ट्रपति भवन शीत्तल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाको परमाधिपति हुन ।

नवनियुक्त भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी तथा नेपाली सेनाका नवनियुक्त प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।

भारतीय सेनाको २७ आैं सेनाध्यक्षका रुपमा रावतको सन् २०१६ डिसेम्बर ३१ मा नियुक्ति भएको थियो । उनले यसअघि भारतीय सेनाका गोर्खा रेजिमेन्ट्को प्रमुखका रुपमा जिम्मेवारी सम्हालिसकेका छन् ।

नेपालमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, समकक्षी नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भारतीय सेनाध्यक्षले नेपाल भ्रमणका क्रममा पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुका साथै पोखरास्थित भारतीय सैनिकको पेन्सन क्याम्पको समेत गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्