खुमबहादुरले लगे केन्द्रिय समिति बैठकमै हिन्दुराष्ट्रको प्रस्ताव

ललितपुर, चैत १३ । जारी केन्द्रिय समिति बैठकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य खुमबहादुर खड्काले हिन्दुराष्ट्रको प्रस्ताव पेश गरेका छन् ।

आइतबारदेखि सुरु भएको केन्द्रिय समिति बैठकमा खड्काले संसदमा अहिले संविधान संशोधनको प्रस्ताव अड्किरहेको भन्दै अब संशोधन गर्दा हिन्दुराष्ट्र कायम गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

खड्काले यसबारेमा छलफल गरेर पार्टीको केन्द्रिय समितिबाटै निर्णय गर्नुपर्ने माग गरेका छन् ।

तर, यसमा बैठकका अध्यक्षता गरिरहेका सभापति शेरबहादुर देउवाले कुनै प्रतिक्रिया नजनाएको केन्द्रिय सदस्य पार्वत चौधरी डिसीले जानकारी दिनुभयो ।

कांग्रेसको बैठकमा बैठकको अध्यक्षता गर्नेले नै बैठकका एजेण्डा राख्ने परम्परा छ । त्यो परम्परा अनुसार सभापति देउवाले यो बैठकमा छलफलका लागि ९ वटा एजेण्ड पेश गर्नुभएको छ ।

तर खड्काले हिन्दुराष्ट्रको छुट्टै एजेण्डा बैठकमा राखेका छन् । खड्कालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै जेल सजाय दिएको थियो ।

सर्वोच्चले तोकेको सजाय पुरा गरेपछि खड्का फेरि पार्टीमा क्रियाशिल रहँदै आएका छन् । तर उनले सुरुदेखि नै हिन्दु राष्ट्रको पक्षमा वकालत पनि गर्दै अाएका छन् ।

कमेन्ट गर्नुहोस्