बेइजिङमा व्यस्त प्रचण्ड-आज उच्च नेता र व्यापारीसँग भेटदेखि सम्बोधनसम्म

बेइजिङ, चैत १३ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ आइतबार पनि व्यस्त रहने भएका छन् । आइतबार विहानैदेखि चिनियाँ उच्च अधिकारीसँग भेटघाटमा रहेका प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटी परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसपछि उनी विश्वविद्यालयले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा आज सम्वोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले आइतबार नै चिनियाँ व्यवसायीसँग दुई मुलुकको व्यापारिक सम्भावना बारे छलफल समेत गर्ने कार्यक्रम तय भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवं उच्च नेताहरुसँग प्रधानमन्त्रीले आजै भेटवार्ता गर्ने कार्यक्रम छ ।

हेनानमा आयोजित बोआओ सम्मेलनलाई सम्बोधन गरेपछि शनिबार बेइजिङ फर्केका प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान संसारको सबैभन्दा लामो र ठूलो ग्रेटवाल पर्खालको अवलोकन पुगेका छन् । प्रचण्डसँग परराष्ट्रमन्त्री प्रकाश शरण महत, नेपाली दूतावासका पदाधिकारीलगायत रहेका थिए ।

प्रचण्डले भोली राष्ट्रपति सि जिनपिङसँग दुईपक्षीय सम्वन्धबारे महत्वपुर्ण भेटवार्ता गर्नेछन् । यस्तै १५ गते प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पनि पुग्नेछ । त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ । प्रधानमन्त्री दाहाल यही चैत १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्