गृहमन्त्रीको दाबी–‘तपाईंहरु ढुक्क हुनुहोस्, मधेसी मोर्चा चुनावमा आउँछ’

प्रहरी महानिरीक्षक नियुक्ती छिटै हुने

मोरङ, चैत १४ । सरकारका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेसी मोर्चा पनि चुनावमा आउने दाबी गरेका छन् ।

सोमबार विराटनगर विमानस्थलमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री निधिले मोर्चासंग सीमांकनको विषयलाई चुनाव अगाडि नै पारित गरेर जाने कि अधिकार सम्पन्न संघीय आयोग बनाएर प्रदेश र केन्द्रको चुनाव अगाडि टुंग्याउने भन्ने विषयमा कुरा भइरहेको बताए ।
‘संयूक्त मधेसी मोर्चासंग कुरा भइरहेको छ, अधिकार सम्पन्न संघीय आयोग बनाएर अघी बढछौं,’ उनले भने, ‘मोर्चा पनि स्थानीय तहको चुनावमा सहभागी हुन्छ तपाईंहरु ढुक्क हुनुहोस् ।’

मन्त्री निधिले तोकिएकै समयमा चुनाव गर्नेगरी काम भएको र एकैदिनमा मतदान सकाउने सरकारको तयारी रहेको स्पष्ट पारे । उनले प्रहरी महानिरीक्षक नियुक्ती छिटै हुने पनि बताए ।

स्थानीय तह चुनावको मिति नजिकिँदै गर्दा निधि पूर्वको सुरक्षा अवस्था बारेको क्षेत्रिय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर आएका हुन् । गृहमन्त्री निधिले २०६७ सालमा भारतीय सीमा सुरक्षा बल(एसएसबी)को गोली लागेर मृत्यु भएको अमाही बरियाती–७ खयरबनाका वासुदेव साहका परिवारलाई १० लाख क्षतिपूर्ति प्रदान गरेका छन् ।

विराटनगरमा पूर्वका १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, अनुसन्धान प्रहरी प्रमुख, सशस्त्र प्रहरी उपरीक्षकको भेला भएको छ ।

बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि पूर्वका सिरहा, सप्तरी, सुनसरी, मोरङमा सुरक्षा संवेदनशीलता भए पनि पहाडी जिल्लाहरुमा सहज अवस्था रहेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्