खराब मौसमका कारण उडान प्रभावित

पोखरा, चैत १७ । खराब मौसमका कारण पोखरा विमानस्थलको उडान सेवा प्रभावित भएको छ ।

मौसममा आएको परिवर्तनसँगै भिजिविलिटी पर्याप्त नहुँदा पोखराबाट हुने सबै उडान प्रभावित भएको विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिनुभयो ।

खराब मौसमका कारण हिजोका केही उडान र आज बिहानका सबै उडान पनि प्रभावित भएको उहाँले बताउनुभयो ।

हिजो पोखराबाट हुनुपर्ने बुद्ध एयरका छ वटा उडानमध्ये एकमात्र उडान भएको थियो भने यति एयरका आठ वटामध्ये तीन वटा उडान भएको थियो ।

त्यस्तै सिम्रिक एयरको हिजो हुनुपर्ने तीनमध्ये दुई वटामात्र उडान भएको पौडेलले जानकारी दिनुभयो । आज पनि जोमसोमको लागि तय भएका सिम्रिक र तारा एयरका तीन÷तीन उडान हुन सकेको छैन ।

आज बिहान ११.०० बजेसम्म पोखराबाट काठमाडौँका लागि हुनुपर्ने कुनै पनि उडान हुन नसक्नुका साथै दृष्यावलोकनका लागि उड्ने गरेको अल्ट्रालाइट सेवा र सराङकोटबाट हुने प्याराग्लाइडिङ समेत प्रभावित हुँदा पर्यटक समस्यामा परेका छन् ।

कमेन्ट गर्नुहोस्