के कुरा भए भारतीय राजदूत र नेपालका उपराष्ट्रपतिबीच

काठमाडौं, चैत १८ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जीवसिंह पुरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रबार अपरान्ह कान्तिपथस्थित उपराष्ट्रपतिको कार्यालयमा उपराष्ट्रपति र भारतीय राजदूत पुरीबीच भेटवार्ता भएको थियो ।

भेटमा उपराष्ट्रपतिले नेपाल भारत सम्बन्ध जनस्तरसम्म प्रगाढ रहेको बताएका थिए । उनले दुई देशबीच बलियो सांस्कृतिक, ऐतिहासिक, धार्मिक सम्बन्ध रहेको बताएका थिए । उनले छिमेकीको नाताले बेला बेलामा सम्बन्धमा उतारचढाव आउने गरेपनि दुईदेशबीचको उच्चस्तरीय भ्रमणहरुले सम्बन्धलाई प्रगाढ बनाउँदै लगेको बताए ।

भेटमा उपराष्ट्रपतिले नेपाली जनताको लामो संघर्षपछि प्राप्त समावेशी लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न नेपाल निर्वाचनतर्फ लागेको बताए । उनले वैशाख ३१ गते घोषित मितिमा सबै नेपालीको सहभागीतामा स्थानीय तहको निर्वाचन हुने र त्यसबाट नयाँ संविधानअनुसार शक्तिशाली स्थानीय सरकार बन्ने बताए । उनले निर्वाचन सम्बन्धी असन्तुष्टिहरुले संबोधन गर्न राजनीतिक दलहरु लागिरहेको र छिट्टै नयाँ राजनीतिक सहमति बन्ने विश्वास व्यक्त गरेका थिए ।

उपराष्ट्रपतिले नवनियुक्त राजदूतको कार्यकाल सफलताको शुभकामना दिनुहुँदै राजदूत पुरीको कार्यकालमा दुई देशबीचको सम्बन्ध झनै प्रगाढ बन्ने विश्वास व्यक्त गरेका थिए ।
उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत पुरीले भारत र नेपालको सम्बन्ध बताब्दीऔं पूरानो भएको बताए । उनले भारत जहिले पनि नेपालको शान्ति, समृद्धि र स्थायित्व चाहने बताए ।

नेपालको आर्थिक विकासमा साझेदार गर्दै आएको बताउनुहुँदै राजदूत पुरीले नेपालको उर्जा, पूर्वाधार निर्माणलगायतको क्षेत्रमा सहकार्य अझै बढाउन तयार रहेको बताए । राजदूत पुरीले लोकतन्त्रमा चुनाव अनिवार्य भएको बताउँदै स्थानीय तहलगायतका आगामी निर्वाचनका लागि नेपाललाई सहयोग गर्न भारत तयार रहेको बताए ।

कमेन्ट गर्नुहोस्