काठमाडौँ, चैत १९। अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित ‘एपी वान टेलिभिजन’ आजबाट औपचारिक रुपमा प्रसारणमा आएको छ ।
शुक्रबार उक्त टिभीको आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले सुभारम्भ गरेका छन् ।
सो अवसरमा प्रधानमन्त्री दाहालले नेपालमा भएको राजनीतिक परिवर्तन र जागरणसँगै मिडियाको क्षेत्रमा पनि तीब्र विकास भएको बताए ।
मिडियाले तराई, पहाड, हिमाल तथा विभिन्न जातजाति, क्षेत्र, वर्ग र संसारभरी छरिएका नेपालीलाई एकताबद्ध गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा उनको जोड थियो ।
प्रधानमन्त्री दाहालले देशमा आएको परिवर्तनलाई संस्थागत गर्न राजनीतिक सङ्क्रमणको अन्त्य गरी आर्थिक विकास गर्न पनि सबै जुट्नुपर्ने खाँचो औँल्याए ।
उनले संविधानको स्वीकार्यता बढाउँदै त्यसको कार्यान्वयन गरी राजनीतिक स्थिरता कायम गरी देशको आर्थिक विकास गर्न निर्वाचन एउटा महत्वपूर्ण कडी भएको बताए।
नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सञ्चार माध्यमको भीडमा अहिलेको आवश्यकतालाई ध्यान दिँदै मिडिया सञ्चालन गरिएको र मुलुकको आर्थिक विकासमा भूमिका खेल्ने धारणा व्यक्त गरे। रासस