कविता : शहर

 जब हुन्छ गोधूलि साँझ
तब हुन्छ सुरू
कथा सहरको
अनेक अनेक शीर्षकमा ।

बिहानको नानी घामसँगै
एकातिर गुडाउछन्
अभाब पूर्तिका लागि
आ आफ्नै ठेलागाडी
कपडा बेच्नेहरू
तरकारी बेच्नेहरू
फलफूल बेच्नेहरू
उठाएर दुबै हत्केलामा
ठेलाका पर्वतहरू
अर्कातिर
फुकालेर इज्ज्तको ओहदा
तोडेर सामाजिक संरचना
थुप्रै थान नरनारीहरू
गर्छन बिज्ञापन शरीरको
र फाल्छ्न बेश्या आकर्षण
ग्राहकहरुको भिडमा ।

म दर्शक हुँं
मानौं नाटक हेर्दैछु निस्शुल्क
टुँडिखेलमा बसेर
संगती नमिलेका
अलपत्र सहरका मान्छेहरूको
छटपटीको ह्यामलेट
र हेर्दैछु
रत्नपार्कका पेटीमा
बेच्न राखिएका दुला परेका जुत्ताहरू
अनि म भन्न हुन्छु बाध्य
सूर्योदयदेखि सूर्यास्तसम्म
कमसल मालको प्रचारमै
सहर सक्छ भुक्न,भुकिरहन
सहरको कथा हेरिरहेको घण्टाघरले
कहिले लेख्ला महाकाब्य रु

लागेन मलाई सहरमा मुटु हुन्छ
र त मान्छे पथर भए
सतरीका हजुरबाहरू
भन्दैनन् सात वर्षकी नातिनी
गर्छन् बलात्कार मझेरिमै
र लगिन्छ बालिकाहरुलाई
होस फर्काउन
अस्पतालको शैयामा
साँच्चै सहर पेडोफाइल हुर्काउने कारखाना हो
कोही भोकले मरोस
कोही शोकले मरोस
कोही रोगले मरोस
सहरको आँखाले चुहाउदैन आँसु
बरू साँघुरिन्छ मन
जसरी दुर्गन्धले साघुरिएको छ
टुकुचा खोला ।

मैले बुझेको यति हो
सहरमा रक्सी बिक्छ,शरीर बिक्छ
त्यो भन्दा अझ धेरै
बोकाको टाउको झुन्डाएर पसल थापे
कुकुरको मासु बिक्छ
तर बिक्दैन
गरिबको आँसुको काव्य
बुझिदैन परिश्रमको त्रिशूली ।

मेरो गाउँमा
धान फल्थ्यो र बेचिन्थ्यो
आलु फल्थ्यो र बेचिन्थ्यो
भटमास फल्थ्यो र बेचिन्थ्यो
सहरमा
भ्रम फलाउछ्न एकथरी
त्यही भ्रमको दलदलमा
डुबेर मर्छन अर्काथरी
साँच्चै सहरको मुटु नै हुँदैन
अझ भनौँ
मुटु नै भएपनि संवेदना नै हुँदैन
म यही संवेदनाहीन
सहर भोगिरहेछु।

कमेन्ट गर्नुहोस्